काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताए ।
उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताए । उनले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले जिब्रो चपाएर कुरा गरेको बताए ।
उनले महाअभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुखद् भएको बताए ।