काठमाडौं । सिटिइभिटी केन्द्रिय समिति अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सचिवालय समिति सदस्य मानसिंह धामीको प्रमुख आतिथ्यता र अनेरास्ववियु केन्द्रिय समिति सदस्य हिक्मतजंग मल्लको विशेष आतिथ्यतामा अनेरास्ववियु सिटिइभिटी कालिकोट जिल्ला समिति गठन गरिएको छ ।
समितिमा नौजना सदस्यहरु रहने निर्णय गरिएको छ । जसको अध्यक्षमा सुरेश शाही, उपाध्यक्ष विमप्रसाद आचार्य, सचिवमा रिजन बम, कोषाध्यक्ष यमुना शाही र सहसचिवमा सुनिता बम लगायत चुनिएका छन् ।
समिति चयन पछिको बैठकबाट प्राविधिक शिक्षामा रहेका विद्यमान समस्यालाई उठान गरी कालिकोटमा प्राविधिक शिक्षालाई अझ गुणस्तरीय बनाउन र प्राविधिक शिक्षामा हुने लापरबाहीलाई नियन्त्रण गर्न सचेत रहँदै सम्बन्धित निकायलाई झक्झकाउने निर्णय गरिएको छ ।
सो समितिको उद्धेश्य चर्को शुल्क असुल्ने विद्यालयका विरुद्ध आवाज उठाउने र विद्यार्थीहरुका मागहरुलाई सम्बन्धित निकायसम्म पुर्याउनु रहेको छ ।
मानसिंह धामी र हिक्मतजंग मल्लको पहलमा सिटिइभिटी अन्तरगत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरी सक्रियता र कार्यक्षमताको आधारमा समितिका पदाधिकारी छनोट गरिएको हो ।
विगतमा कालिकोट जिल्लामा प्राविधिक संकायमा अध्ययन हुने संस्थाहरु थिएनन् । तर हाल समुदायिक विद्यालयमार्फत् प्राविधिक शिक्षा दिने नीतिले अहिले यो जिल्लामा पनि प्राविधिक विषयमा अध्ययन हुने गरेको छ । कालिकोटमा कृषि, इन्जियरिङ्ग, सूचना प्रविधि र अन्य संकायमा पनि अध्ययन हुने भएका छन् ।
यो पहलले कालिकोटका विद्यार्थीलाई पढ्नका लागि काठमाडौं जानु पर्ने बाध्यात्मक परिस्थिति हटेको छ । तर सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालय खोलेर मात्र समग्र प्राविधिक पक्षको अध्ययन पूरा हुने भने होइन । बरु यसलाई नयाँ र उच्चस्तरबाटै व्यवस्थापन गर्नु पर्दछ ।
कालिकोटमा रहेका प्राविधिक शिक्षा पढाई हुने विद्यालयमा आवश्यकताहरुको व्यवस्थापन गर्न नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । उनीहरूको भविष्य माथि खेलबाड गर्ने काम गरिएको छ ।
प्राविधिक शिक्षामा प्रयोगात्मक कक्षा बढी गर्नु उपयुक्त हुन्छ तर सामुदायिक विद्यालयमा यसको एक प्रतिशत पनि कार्यान्वयन हुन सकेको छैन । विद्यार्थीका माग सम्बोधन पनि हुन सकेका छैनन् ।
तीन वर्षे पाठ्यक्रमलाई पाँच वर्ष बढाएर विद्यार्थीको समय खेर फाल्ने काम गरिएको छ ।
आज भएको छलफलमा यस विषयमा गम्भीर कुरा उठाएइको छ । साथै कार्यक्रमका अतिथिहरुले यसका बारेमा सिटिइभिटीमा छलफल गर्ने आश्वासन दिएका छन् ।
प्राविधिक शिक्षामा हुने अनियमितता, विद्यार्थीका माग, समयमा प्रयोगात्मक सामग्री र पाठ्यपुस्तकको उपलब्धतामा जोड दिने जस्ता काम यस समितिले प्रमुखताका साथ लिने विद्यार्थी नेता धामीले बताए ।
उक्त कार्यक्रममा पञ्चदेव माध्यमिक विद्यालय प्राविधिक संकायका कोर्डिनेटर जनेश शाहीको पनि उपस्थिति थियो ।
उनले यस विषयमा आफ्नो पनि साथ रहने बताए । उनले अब नयाँ शैक्षिक सत्रमा आउने विद्यार्थीलाई छात्रवृत्तिको पनि सुनिश्चितता गर्ने पनि बताए ।