• फाल्गुन २६ २०८२, मंगलवार

राष्ट्रपति बाइडेन ज्यू पुटिनसँग वार्ता गरेर मलाई जेलबाट छुटाउनुहोस् !

असार २१ २०७९, मंगलवार

असार २१, काठमाडौँ । अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरले आफूलाई रुसको जेलबाट छुटाउन पहल गरिदिन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आग्रह गरेकी छन् । उनले आफू आजीवन जेलभित्र रहनसक्ने त्रासमा रहेको भन्दै बाइडेनलाई एक पत्र लेखेकी हुन् ।

महिला राष्ट्रिय बास्केटबल संघकी स्टार एवम् दुई पटकसम्म ओलम्पिक स्वर्ण विजेता ग्रिनरका प्रतिनिधिहरूले सोमबार उक्त पत्र जारी गरेका थिए । उक्त पत्र जारी भएकै दिन उक्त पत्र ह्वाइट हाउस पठाइएको ग्रिनरका एजेन्ट लिन्डसे कागावा कोलासले जानकारी दिएकी छन् ।

‘म रुसी जेलमा बसिरहँदा, मेरा विचारहरू र मेरी श्रीमती (समलिंगी जोडी), परिवार, साथीहरू, ओलम्पिक जर्सी वा कुनै उपलब्धिको रक्षा बिना, म सधैंको लागि यहिँ रहन सक्छु भनेर डराएको छु,’ ग्रिनरको हस्तलिखित पत्रमा लेखिएको छ ।
उनले अमेरिकी स्वतन्त्रता दिवसको सन्दर्भ जोड्दै पत्रमा लेखेकी छन्,‘जुलाई ४ मा हाम्रो परिवारले सामान्यतः हाम्रो स्वतन्त्रताको लागि लड्नेहरूको सेवाको सम्मान गर्छ । जसमा भियतनाम युद्धमा लडेर योगदान गर्नुभएका मेरा बुबा पनि पर्नुहुन्छ ।’

आफूले कसरी स्वतन्त्रता दिवस मनाउँछु भन्नेबारे सोच्दा पनि त्यसले चोट दिने भन्दै उनले आफ्ना लागि स्वतन्त्रता भन्ने कुरा यस वर्ष अन्यको भन्दा भिन्न रहेको पनि उल्लेख गरेकी छन् । ग्रिनर गत फेब्रुअरीमा रुसको राजधानी मस्कोस्थित विमानस्थलबाट पक्राउ परेकी थिइन् । रुसी प्रहरीले उनलाई गाँजाको तेलसहितको ‘भेप कार्टिज’ बोकेको आरोप लगाएको छ ।

यद्यपि अमेरिकी प्रशासनले भने उनलाई रुसले युक्रेनसँग तनावका बीच गलत आरोपमा गिरफ्तार गरिएको आरोप लगाउँदै आएको छ । ग्रिनरको सोधपुछ मस्कोमा जुलाइ १ मा सुरु भएको थियो । यस क्रममा दुई प्रत्यक्षदर्शीलाई पनि सोधपुछ गरिएको थियो ।

सोमबार ग्रिनरले बाइडेनलाई पठाएको पत्रमा आफूलाई फिर्ता ल्याउनका लागि सम्पूर्ण शक्ति प्रयोग गर्न पनि बाइडेनलाई आग्रह गरेकी छन् । ‘कृपया मलाई घर फर्काउन तपाईं आफूले सकेजति पहल गर्नुहोला । मैले २०२० मा पहिलो पटक तपाईंलाई नै मतदान गरेकी थिएँ । मलाई तपाईंमा विश्वास छ । तपाईं मेरो स्वतन्त्रता पुनस्र्थापना गर्न मद्दत गर्न सक्नुहुन्छ ।’
यस्तै उनले आफ्नी श्रीमती र आफ्ना सहकर्मीहरूको याद आइरहेको पनि पत्रमा लेखेकी छन् । ‘उनीहरू अहिले मेरो सम्झनामा तड्पिएका छन् भन्ने थाहा पाउँदा झन् गाह्रो भएको छ । मलाई यतिबेला घर फर्काउन तपाईंले जेसुकै गर्न सक्नुहुन्छ । त्यसमा म धन्य हुनेछु’ उनले भनेकी छन् ।

यसैबीच उनको रिहाइका लागि अन्य व्यक्ति र संस्थाहरूले पनि आग्रह गरेका छन् । महिला राष्ट्रिय बास्केटबल संघले ट्वीट गर्दै आफ्ना खेलाडी ब्रिटनी ग्रिनरलाई रुसले गलत तरिकाले हिरासतमा राखिरहँदा स्वतन्त्रता दिवसको मजा लिन गाह्रो हुने जनाएको छ ।