• बैशाख २३ २०८३, बुधबार

न्याय किनबेच: न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच ‘घुस डिल’ यसरी भयो संवाद

असार ८ २०७९, बुधबार

काठमाडौं । सुरुमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई फोन गर्छन । उनले कुराकानी सुरु गरेपछि सजिलोका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामार्फत काठमाडौं जिल्लाका एक नम्बर न्यायाधीश राजुकुमार खतिवडालाई खवर गर्छ लगाउने बताउछन् ।

अधिवक्ता रुद्र पोखरेल– प्रधानन्यायाधीशबाट १ नम्बरलाई खवर गर्न लगाइदिन्छु । हजुरलाई पनि खवर गर्न लगाइदिन्छु ।

न्यायाधीश राजकुमार कोइराला– प्रधानन्यायाधीशलाई ?

अधिवक्ता रुद्र पोखरेल– हजुरले गर्दै नगर्ने भए त म बेकारमा किन बचन खेर फाल्न जाने ? भन्नु त ।

अधिवक्ता पोखरेलले इच्छाराज तामाङलाई धरौटीमा छाड्ने आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई नै भन्न लगाउने भनी न्यायाधीश कोइरालालाई सुनाएका हुन् । त्यसका लागि उनले न्यायाधीश कोइरालाको प्रतिवद्धता खोजेका छन् ।

न्यायाधीश कोइराला– सुन्नुहोस न । सुन्नुहोस न । (कुरा स्पष्ट बुझिदैन)

अधिवक्ता पोखरेल– हत्तेरिका, तपाई डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउछ ? अनि किन ? अरु मान्छे कत्रो गरेर बसेका छन् ।

न्यायाधीश कोइराला– त्यो हो कि हुनलाई । अब के भनेदेखि त्यो अब मलाई……

अधिवक्ता पोखरेल– तपाईंले यो छोड्नुभयो भने तपाईको तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छ । यो अभियोगपत्र लगेर हेर्दा कुन चै माईकालालले यति पैसा खाएर ग¥यो भन्ने खालको छ र ? अभियोगपत्रै त्यस्तो बनाएर ल्याएको छ ।

न्यायाधीश कोइराला– अँ अँ । (उनी केही बोल्न खोज्छन् । अधिवक्ता पोखरेलले हस्तक्षेप गर्छन ।)

अधिवक्ता पोखरेल– सहकारी ऐन बमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठेरो हुन्थ्यो । त्यहा ऐनका सबै कुराहरु छँदै थिए । ठगी त । केही गरी ठहरिँदै नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?
न्यायाधीश कोइराला– (अलि जोडले हास्छन् ।) त्यो त हो कि हजुर ।

अधिवक्ता पोखरेल– हस्तक्षेप गरेर बोल्छन् । मान्छेले यसै….

न्यायाधीश कोइराला– सुन्नु त, त्यो कुरामा म कन्भिन्स छु । तर के भनेदेखि हिजो सुन्नुभएको भएदेखि…….. । रोएर (उनले बचतकर्ता रोएर भनेका हुन् ।)

न्यायाधीश कोइरालाले रोएर भनी संकेत गरेका व्यक्तिहरु सिभिल सहकारीका बचतकर्ता हुन् । उनीहरुले आफ्नो बचत डुबेको भनी प्रहरीमा उजुरी दिएका थिए र प्रहरीले इच्छाराज तामाङलाई ठगीमुद्दा चलायो । ती बचतकर्ता अदालतमै आएर रोएको भनी न्यायाधीश कोइरालाले अधिवक्ता पोखरेललाई फोनमा बताएका हुन् ।

अधिवक्ता पोखरेल–यस्तो हो क्या हजुर । त्यो मध्येका केही मान्छे मेरा घरमा पनि आइसके । केही मान्छे अफिसमा पनि आइसके । तलाई हामी ठिक गर्छौं पनि भनिसके । बहस नै गर्नेलाई पनि नभन्ने भन्ने हुन्न । रामप्रसाद श्रेष्ठ भन्ने पनि मेरो क्लाइन्ट नै रहेछन् । १० कि १२ करोड रहेछ । रिसाउँदै आएका थिए । तपाईंलाई त इमान्दार वकिल, राम्रो वकिल भनेको छु भन्थे । तामाङको पक्षमा त्यस्तो बहस गर्ने हो तपाईंले भनेर । अनि मैले हो भनेर…….

न्यायाधीश कोइराला– (हिजो) डिल्लीप्रसाद भट्टराई भन्ने मान्छे आठराईको हो । वकिललाई त्यस्तो भन्नु हुन्छ । उहाँको पेशा हो, धर्म हो । त्यस्तो भन्न हुन्छ ? भनेँ ।

अधिवक्ता पोखरेल– भन्छन् के । मैले हजुरलाई सुरुदेखि नै भनेको हो ।

न्यायाधीश कोइराला– हो के । सुन्नु न । जाहेरवालाको वकिल केशव बराल कि के रे ?

अधिवक्ता पोखरेल– रमेश बडाल ।

न्यायाधीश कोइराला– रमेश बडाल बहस गर्न आउने रे । उनलाई ल्याएका छन् । यसैले गर्दा…..

अधिवक्ता पोखरेल– ठिक छ । ठिक छ । बहस गर्न त पाइयो त हजुर ।

न्यायाधीश कोइराला– आज दिनभरी लागिहाल्छ । आज भोलि हुन सक्दैन । (उनले बहस गरेर टुंगिदैन भन्न खोजेका हुन् ) सुन्नु न । सुन्नु न । बर्बाद हुन्छ नि त ।

अधिवक्ता पोखरेल– केही हुँदैन । केही हुन्न ।

न्यायाधीश कोइराला– हँ ?

अधिवक्ता पोखरेल– केही हुन्न । म माथि मनाउँछु । माथि मैले मनाएर तपाईंलाई संकेत आएन भने नगरिस्यो । माथिबाट म गराउँछु । लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढंगले लिउँ । यो अवसर सधैं आउदैन, हेरिस्यो है ।

न्यायाधीश कोइराला– हास्छन् ।

अधिवक्ता पोखरेल– फेरि ठाउँ भएको ठाउँ छ । ठाउँ छ । ठाउँ नभएको भए हजुरले के भन्या तैले भन्नुहुन्थ्यो । हजुरले त सुरुदेखि अलिअलि मानसिकता बनाएको हो ।

न्यायाधीश कोइराला– मैले मानसिकता । (अलि अक्मकिन्छन् ।) प्रधानन्यायाधीशले भन्छन् त ? प्रधानन्यायाधीशले ? (उनले प्रधानन्यायाधीश भन्ने शब्दलाई ज्यादा जोड दिन्छन् )

अधिवक्ता पोखरेल– भन्छन् । म भनाउँछु ।

न्यायाधीश कोइराला– एक नम्बरलाई भन्न लगाउनु न । एक नम्बरलाई भनाउनु न । (उनले एक नम्बर भनेर संकेत गरेका न्यायाधीश राजुकुमार खतिवडा हुन् ।)

अधिवक्ता पोखरेल– भन्न लगाएँ मैले । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

न्यायाधीश कोइराला– ल हेरौंला नि ।

अधिवक्ता पोखरेल– ल हेरौंला होइन । मैले त्यति गरिसकेपछि हजुरले फेरि नाइ भन्ने ?

न्यायाधीश कोइराला– आज हुँदैन । म आज आदेश गर्दिन । आज हुँदैन भोलि हुन्छ भनेपछि । मुद्दा रोकिने कुरा छैन ।

अधिवक्ता पोखरेल– सामान (उनले रकमलाई सामान भनी संकेत गरेका हुन्) पनि ल्याओ भन्नुपर्‍यो । उ गर्नुपर्‍यो । त्यत्तिकै फोकटिया त किन गर्ने फेरि ? समय नै छैन नि त । समय नै छैन । समय छैन । (उनले यो शब्द बारम्बार दोहोर्‍याउँछन्) किन उ गरिस्या भन्या ? सबै कुरा मिलिसकेपछि यस्तो बेलामा उ गर्नु हुन्न । सबै कुरा म गरिहाल्छु । बाहिरको । माथिको पनि म भनाउँछु । सामान पनि म लिन्छु । त्यो भन्दा बाहिर कहि एक्सपोज हुँदैन । डाइरेक्ट गर्छु मैले । यिनीहरुका सबै च्यानल हावा खाए । खासमा दरिलोसँग यिनीहरु जानै सकेनन् ।

न्यायाधीश कोइराला– धरौटी माग्ने ? कति माग्ने नी ?

अधिवक्ता पोखरेल– हजुरले कति भनिसिन्छ ? एउटा रिजनेवल भन्न पर्‍यो ।

न्यायाधीश कोइराला– कति भन्नु त ।

अधिवक्ता पोखरेल– एउटा रिजनेवल भन्नु नि । गएर गर्नु नि ।

न्यायाधीश कोइराला– उनी बोल्न खोज्दै थिए ।

अधिवक्ता पोखरेल– १० करोडको हाराहारीमा माग्नु नि ।

न्यायाधीश कोइराला– कति ? १० करोड ? ठिक छ, हुन्छ । हुन्छ अब । (फिस्स हासेको सुनिन्छ । अप्ठेरो पर्दैन भनेर लागियो ।

अधिवक्ता पोखरेल– पर्दैन पर्दैन । राम्रो (हुन्छ) । सधैं यस्तो बेला आउँदैन । अरु बेलामा गर्ने । यस्तो बेलामा एउटा दुईटा सिद्धान्त छाड्ने गर्ने । जाहेरवालाको हित भन्ने । पासपोर्ट रोक्ने । एक दुईवटा एक दुईवटा आइडिया निकालुँला न ।

न्यायाधीश कोइराला– अँ (गाह्रो मानेर हाँस्छन् ।)

अधिवक्ता पोखरेल– त्यो गरौं । यतातिर झ्याप्राक्क २ जति लिउ न । (उनले २ भनी गरेको संकेत दुई करोड रुपैयाँ हो ।)

न्यायाधीश कोइराला– अँ । (फेरि हास्छन्) ठिक छ । माथिबाट हुन्छ नी ?

अधिवक्ता पोखरेल– माथिबाट (हुन्छ) । तपाईं ए रामप्रसाद सर । अहिले मैले गएर नमस्ते गरेर मैले भनेको यति काम गर्नुपर्छ भन्दा पनि गरेन भने त यो जतिको फुटकर को हुन्छ ? पैसा खाएर लालकाजीको वारेमा यत्रो गरिरहेको छ । हैन ?

न्यायाधीश कोइराला– नबुझिनेगरी केही बोल्छन् ।

अधिवक्ता पोखरेल– उनीहरुले पनि गर्ने हुन् नि ।

न्यायाधीश कोइराला– ए अँ ।

अधिवक्ता पोखरेल– मैले मेरो यो हो । यो यो कारणले तैले गर्नुपर्छ भन्दा किन नगर्ने ? फेरि गर्न नहुने चिज भए हुने । यो त लिगल्ली तपाईं कन्भिन्स भएको हो । खाली मिडियाले के लेख्ला कि ? कसले के गर्ला कि ? भन्ने न हो ।

न्यायाधीश कोइराला– मिडियाले नारा जुलुस गर्लान कि ?

अधिवक्ता पोखरेल– केही गर्दैनन् । नारा जुलुस केही गर्दैनन् । माथि जान्छ । माथिबाट उ पनि भएर आउँछ । तपाईंको आदेश सदर भएर ल्याउने सम्मको जिम्मा मेरो भयो । तपाईं किन आत्तिएको ?

न्यायाधीश कोइराला– हा हा । (गाह्रो मानेर हाँसेको सुनिन्छ )

अधिवक्ता पोखरेल– मलाई त पहिले पास हुँदैन कि भन्ने थियो । मुद्दा सबै हेरिसकेपछि त …..। झोक्किँदै । तपाईंले सक्नुभएन भने त माथिकोले सक्छन् । बेकारमा अर्काका छोराछोरी उ गरेको किन उ गर्नुहुन्छ तपाईंले ? हँ…आफूले गरौं न ।

न्यायाधीश कोइराला– त्यो त हो कि । ठिकै छ । ठिकै छ । माथिबाट भन्नु न । माथिबाट एक नम्बरबाट भन्नु न ।

अधिवक्ता पोखरेल– ठिक छ, म भन्न लगाउँछु नि त । यहाँ सुनिस्यो । माथिबाट भन्न लगाउँछु । पैसा म बेलुका समाती सक्छु ।

न्यायाधीश कोइराला– त्यही त । बुझेँ नि त । १० करोड भन्दा त धरौटी त ५० करोड रुपैयाँ भन्नुपर्छ ।

अधिवक्ता पोखरेल– ५० करोड भन्नुभन्दा त यसै थुन्दिए भैगो नी तेल्लाई । (उनले तेल्लाई भनी संकेत गरेका व्यक्ति ठगीको आरोप लागेका इच्छाराज तामाङ हुन् ।)

न्यायाधीश कोइराला– केही बोल्न खोज्छन् ।

अधिवक्ता पोखरेल– मज्जाले हास्छन् ।

न्यायाधीश कोइराला– १० करोड भनेको त १० करोडै हुन्छ त ।

अधिवक्ता पोखरेल– ल त भैहाल्यो नी । १० करोड भनेको सानो पैसा होइन ।

न्यायाधीश कोइराला– सुन्नु न । पत्रिकामा आउँछ कि ? झन बरबाद हुन्छ कि ? जागिर जान्छ कि ?

अधिवक्ता पोखरेल– कल्ले खान्छ जागिर ? कसरी खान्छन् जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम भयो । अनि त्यसपछाडी कसरी जागिर खान्छ ?

न्यायाधीश कोइराला– हँ हँ । हासेजस्तो गर्छन । भएन भने ?

अधिवक्ता पोखरेल– हँ ?

न्यायाधीश कोइराला– सदर भएन भने ? बदर भयो भने ? पत्रिकामा आयो भने ?

अधिवक्ता पोखरेल– कस्तो कुरा गरिस्या होला ? पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजुरहरु जस्तो मानिस न्यायाधीश भएको के काम लाग्यो ?

न्यायाधीश कोइराला– हा हा ।

अधिवक्ता पोखरेल–पत्रिकामा आउने, यो गर्ने उ गर्ने हो भने त यसै तारिखमा छाड्नुपर्ने मान्छे हो । इस्यूका आधारमा त तारिखमै छाड्नु पर्ने ।

न्यायाधीश कोइराला– कुरा गरौं न ।

अधिवक्ता पोखरेल– हजुरले साह्रै खुट्टा कमाउने हो, खुट्टा टेक्दिन भन्ने हो भने त नगरौं कुरा । माथिबाट कुरा आउँदा….

न्यायाधीश कोइराला– म के भन्छु भने म डराएको हुँ । भोलि पत्रपत्रिकामा आएर छ्याल्ल ब्याल्ल भयो भने के गर्ने भन्ने हो ।

अधिवक्ता पोखरेल– त्यसो हो भने किन बेकारमा गोला तान्या त । अर्काकोमा परेको भए यत्रो डेढ महिनादेखिको टेन्सन ।

न्यायाधीश कोइराला– तान्दाखेरि परेछ क्या ।

अधिवक्ता पोखरेल– उनीहरुको पक्षमा पनि दुई÷चारवटा कुरा लेखौंला न हो । उ गर्ने, पासपोर्ट, विदेश जान भन्ने । ……हैन ? उसमा बस्नुपर्ने भन्ने । के के हुन्छ ? मलाई के थाह हुन्छ ? हजुरलाई सबै आइडिया छँदै छ नि ।

न्यायाधीश कोइराला– म सल्लाह गर्छु नि । आफ्नो गुरुज्यूसँग पनि सोध्छु नि त ।

अधिवक्ता पोखरेल– के गरौं त ? प्रधानन्यायाधीशकहाँ टाइम लिऊ ?

न्यायाधीश कोइराला– अहिले ? भन्न मिल्छ ?

अधिवक्ता पोखरेल– शतप्रतिशत भन्छु । (उनले शत प्रतिसत शब्दमा जोड दिएका छन् ।)

न्यायाधीश कोइराला– हो ?

अधिवक्ता पोखरेल–अँ । एक नम्बरलाई बोलाएर भन्दिन्छन् ल ।

न्यायाधीश कोइराला– कल्लाई ?

अधिवक्ता पोखरेल– एक नम्बरलाई । एक नम्बरलाई भनेको होइन त हामीले ? राजुलाई बोलाएर भन्न लगाएर राजुले तपाईलाई भन्छ ।

न्यायाधीश कोइराला– ल ल भन्न लगाउन त । बोलाएर भन्न लगाउँ ।

अधिवक्ता पोखरेल– ल मैले सुरु गरेँ है । त्यहाँबाट आएपछि हजुरले पछाडि हट्न पाइसिन्न है । अरुसँग, धेरैसँग कुरा नगरिस्यो फेरि । तपाईं म मात्रै ।

न्यायाधीश कोइराला– पैसाको कुरा गर्दै गर्दिन नी ।

अधिवक्ता पोखरेल– अम्बिका सम्बिकासँग भयो भने त फेरि यो कहाँ पुग्छ पुग्छ ।

न्यायाधीश कोइराला– तपाईं र मसँगको कुरा हो नि यो ।

यसपछि संवाद टुंगिन्छ ।