• फाल्गुन २६ २०८२, मंगलवार

ताइवानलाई हामीबाट अलग गर्ने अमेरिकी प्रयत्न विरुद्ध लड्नु बाहेक अर्को विकल्प छैन : चिनियाँ रक्षामन्त्री

जेष्ठ २८ २०७९, शनिबार

ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने अमेरिकी प्रयत्न विरुद्ध चीनले अमेरिका विरुद्ध सैन्यशक्ति प्रयोग गर्ने चेतावनी दिएको छ । चीनका रक्षामन्त्री  वेई फेङ्हीले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेटेका थिए ।

सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नु बाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त गरे ।

पछि अस्टिनले चिनियाँ सैनिक गतिविधिलाई ‘उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने’ कदमको सङ्ज्ञा दिए । उक्त प्रायःद्वीपमाथि दिनहुँजसो ठूलो सङ्ख्यामा चिनियाँ वायुयानहरू उडिरहेका र त्यसले ‘उक्त क्षेत्रमा शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको’ उनको भनाइ थियो ।

चीनले स्वशासित ताइवानलाई आफ्नो भूमिको अभिन्न अङ्ग मान्ने गर्छ । उक्त अवधारणाकै कारण रक्षामन्त्री वेले ताइवानलाई हतियार विक्री गर्ने अमेरिकी कदमको निन्दा गरेका थिए । उनलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन्, ‘यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष कुनै पनि मूल्यमा लड्नु र ‘स्वतन्त्र’ हुने ताइवानको प्रयासलाई दमन गर्नु र देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुको अरू विकल्प हुँदैन ।’

रक्षामन्त्री अस्टिनले बेइजिङलाई चीनको सम्पूर्ण सरकारको मान्यता दिने र ताइवानी स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिको नीतिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए । उनले बल प्रयोग गरेर तनाव हल गर्न खोज्नु नहुनेमा जोड दिएका थिए ।

अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरूको यो भेटवार्ता झन्डै एक घण्टासम्म चलेको थियो ।
दुवै पक्षले हार्दिकतापूर्ण छलफल भएको बताएका छन् । चीनका रक्षामन्त्री वे फङ्ख र अमेरिकी समकक्षी लोयड अस्टिनबीच सिङ्गापुरमा पहिलो प्रत्यक्ष भेटवार्ता भएको हो

। अस्टिनले कुनै पनि असमझदारी उत्पन्न हुन नदिन चीनको सेनासँग पूर्णरूपमा सञ्चारको संयन्त्र खुला राख्नुपर्नेमा जोड दिएका थिए ।

मेको अन्त्यमा ताइवानले आफ्नो हवाई सुरक्षा क्षेत्रमा चीनले पठाएका ३० वटा लडाकु विमानलाई चेतावनी दिन आफूले पनि युद्धक विमानहरू परिचालन गरेको बताएका थियो । त्यो चिनियाँ सेनाले जनवरी यता गरेको सबैभन्दा ठूलो अतिक्रमण थियो ।

उक्त घटनामा २२ वटा ताइवानी लडाकु विमान र विद्युतीय युद्ध प्रणाली र पूर्वचेतावनी प्रणाली तथा पनडुब्बीमा मार हान्न सक्ने विमान खटाइएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।