• फाल्गुन २६ २०८२, मंगलवार

रसिया युक्रेन युद्धको १०२ दिन : कीभमा शक्तिशाली विस्फोट, अवस्था ‘अति कठिन’

जेष्ठ २२ २०७९, आईतवार

युक्रेनको राजधानी कीभमा शक्तिशाली विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । रसिया र युक्रेनबिच युद्ध भएको १०२ दिन पुग्दा कीभमा नै आक्रमण भएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले बताएका छन् ।

रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्धको असर कीभमा कम थियो । केही हप्तायता कीभमा कुनै पनि हिंसात्मक घटना भएको थिएन । अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुक्ष देशबिच युद्ध जारी छ ।

जेलेनस्कीले युक्रेनको प्रमुख चर्च रसियाको आक्रमणबाट धवस्त भएको बताएका छन्। स्भितोह्रिस्क लाभरामा रहेको पवित्र ‘अर्थोडक्स’ इसाइ क्षेत्रहरु रसियाको निशानामा परेको उनले बताएका हुन् ।

आक्रमणका कारण एकजना घाइते भएको त्यहाँका मेयर भिताली क्लिटस्चकोले जानकारी दिएका छन् । हाल उनको अस्पतालमा उपचार भइरहेको छ । उनले कीभमा धेरैपटक विस्फोटको आवाज सुनिएको समेत बताएका छन् । विस्फोट भएको क्षेत्रमा सुरक्षाकर्मी तैनाथ भएको उनले बताएका छन् ।

उनले सेभेरेडोन्टेस्कमा युद्ध जारी रहेको भन्दै त्यहाँको अवस्था ‘अति कठिन’ रहेको बताएका छन् । हालसम्म युक्रेनले रसियाले नियन्त्रणमा लिएको २० प्रतिशत क्षेत्र फिर्ता लिइसकेको दाबी गरिएको छ । युद्धका कारण हालसम्म करिब ७० लाख मानिस पलायन भइसकेका छन् ।

यसरी देश छाडेर जानेमा धेरैजसो महिला र बालबालिका छन् । सबैभन्दा बढी युक्रेनी पोल्यान्ड पुगेका छन् । त्यहाँ ३६ लाख भन्दा बढीले शरण लिइरहेका छन् । स्लोभाकिया, मोल्डोभा, हंगेरी रोमानिया र बेलारुसमा पनि लाखौं युक्रेनी पुगेका छन् ।

रसियामा मात्रै १० लाख युक्रेनीहरु शरण लिन पुगेका छन्। युक्रेनले भने रसियाले जबरजस्ती बालबालिकालाई लगिरहेको आरोप लगाएको छ ।  दुई देशबिच युद्ध रोकेर शान्ति कायम गर्न विभिन्न प्रयास भइरहेको छ । दुवै पक्षले विभिन्न समयमा वार्ता गरे पनि सफल हुन सकेको छैन ।