काठमाडौं । अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे जानकारी दिएका हुन् । बाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट किभ पठाउने समाचार प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले सो कुराको खण्डन गरेका हुन् ।
विश्लेषकहरुले युक्रेनलाई रुससम्म मार हान्ने रकेट दिएमा यदि युक्रेनले त्यसबाट रुसतिर प्रहार गर्यो र त्यसको प्रतिकार रुसले गर्ने अवस्था आएमा रुसले युक्रेनलाई नभई अमेरिकातिर पनि आक्राण केन्द्रित गर्ने डरले बाइडेनले युक्रेनलाई लामो दुरीको रकेट नदिने निर्णय गरेको बताएका छन् ।
अमेरिकाले रुससित सिधै आफू नलडेर युक्रेनलाई लडाइरहेको छ । अमेरिका लडाईंको केन्द्र अमेरिका वा युरोपलाई बनाउन चाहन्न । पहिलो र दोस्रो विश्वयुद्ध युरोपमा हुँदा त्यहाँ धेरै मानवीय तथा भौतिक क्षति भएकोले उनीहरु आफ्नो क्षेत्रमा युद्ध नहोस् भन्ने चाहन्छन् ।
युक्रेनका अधिकारीहरुले ‘मल्टिपल लञ्चर रकेट सिस्टम’ नाम गरेको लामो दुरीको रेकट माग गरेका छन् । यसबाट सयौं किलोमिटर लामो दुरीसम्म एकैपटक थुप्रै रकेट प्रहार गर्न सकिन्छ । सीएनएन र वासिङटन पोष्टले शुक्रबार बाइडेन प्रशासनले एमएलआरएस र हाइ मोबिलिटी रकेट सिस्टम युक्रेन पठाउने तयारी गरिरहेको समाचार प्रकाशन गरेको थियो ।