• फाल्गुन २६ २०८२, मंगलवार

सुरक्षाकर्मी फिर्ता लिए लगत्तै कांग्रेस नेताको गोली हानी हत्या, गुण्डा समूहले लियो जिम्मा !

जेष्ठ १६ २०७९, सोमबार

नयाँ दिल्ली । कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मूसवालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुईजना घाइते भएका छन् । पञ्जाब सरकारले मूसवालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्टै यो घटना भएको हो ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुसवाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जीपमा चढ्दै गर्दा आक्रमण भएको थियो ।

मूसवाला गाडीको सिटमा ढलेको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए । उनलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ ।

‘उनको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न छ । गिरोहका सदस्य लक्कीले क्यानडाबाट जिम्मेवारी लिएको छ’ पञ्जाब डीजीपी वीके भवराले भने । त्यस्तै, ३४ वर्ष पुरानो रोड रेज मुद्दामा १ वर्षको जेल सजाय भोगिरहेका पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोत सिंह सिद्धुलाई जेल प्राधिकरणले पटियाला सेन्टर जेलमा सहायकको काम सुम्पेको छ । यसलाई जेलको भाषामा मुन्शी भनिन्छ ।

जेल स्रोतका अनुसार नवजोत सिंह सिद्धुले मंगलबारदेखि नै आफ्नो काम गर्न थालेका छन् । नवजोत सिंह सिद्धुले आफ्नो काम २ सिफ्टमा पूरा गर्नेछन् । एउटा सिफ्ट बिहान ९ः०० देखि १२ः०० सम्म र अर्को दिउँसो ३ः०० देखि ५ः०० सम्म हुनेछ ।

यसबीच उनले ३ घण्टाको ब्रेक पनि पाउनेछन् । हालै मात्रै समाचार आएको थियो कि सिद्धुले जेलमा दाल र रोटी खान अस्वीकार गरेका छन् । जसका कारण उनको स्वास्थ्यमा समेत असर परेको छ । सोमबार उनलाई पटियालाको राजेन्द्र अस्पतालमा लगिएको थियो ।

जहाँ उनको मेडिकल चेकअप गरिएको थियो । सिद्धुले आफूलाई गहुँबाट एलर्जी भएको भन्दै जेलको खाना खान अस्वीकार गरेको बताए । उनले जेलको दाल रोटी खाँदैनन् । सलाद मात्रै खाएर गुजारा चलाउँछन् ।

सिद्धुका मिडिया सल्लाहकार सुरिंदर डल्लाका अनुसार सिद्धुलाई गहुँबाट एलर्जी छ । उनले गहुँको रोटी खान सक्दैनन् । उनले लामो समयदेखि रोटी नखाएकाले विशेष आहारको माग गरेका छन् ।

अस्पतालले जारी गरेको डाइट चार्टमा सिद्धुले हरेक बिहान रोजमेरी चिया, आधा गिलास सेतो पेठाको जुस वा नरिवलको पानी पिउनुपर्ने उल्लेख गरिएको छ ।

डाक्टरहरूले सिद्धुलाई खाजा अघि एक गिलास चुकन्दर, घिउ, काकडी, मौसमी, तुलसी, अमलाको जुस पिउनुपर्ने सल्लाह दिएका छन् । चिकित्सकहरूका अनुसार जुस नखाने अवस्थामा हरियो चना, काँक्रो, टमाटर, कागतीसँगै अंकुरेको कालो चना खान भनिएको छ ।