काठमाडौं । उत्तर कोरियाले आइतबार ज्वरोबाट थप १५ जनाको मृत्यु भएको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ ।
राज्यको आधिकारिक समाचार समिति केसिएनएले आइतवार प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । जसमा आठ लाख २० हजार ६२० मा ज्वरो देखिएको र ती मध्ये तीन लाख २४ हजार ५५० चिकित्सा उपचार प्राप्त गरेपछि निको भएका बताइएको छ ।
यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोङ उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएका छन् ।
उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । त्यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्गयाङमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेको गत पुष्टि भएको थियो ।