काठमाडौं । पहिलोचोटी आफ्नो देशमा कोरोना संक्रमण देखापरेको भन्दै उत्तर कोरियामा देशव्यापी रुपमा कडा लकडाउन गरिएको छ ।
त्यहाँको सरकारी मिडियाले यसबारे समाचार प्रकाशन गर्दै राजधानी प्योङयोङमा ओमिक्रोनको प्रकोप फैलिएको जनाएको छ । तर समाचारमा संक्रमण भएको सङ्ख्या चाहिँ उल्लेख भने गरेको छैन ।
केसीएनएका अनुसार त्यहाँका राष्ट्र प्रमुख किम जोङ उनले कोरोना प्रकोप पूणर् निर्मुल पार्ने प्रतिज्ञा गरेका छन् ।
क्वारेन्टिन लगायत सुरक्षाका कडा मापदण्ड अपनाउँदा पनि भित्रिएको कोरोना प्रकोप देशका लागि गम्भीर राष्ट्रिय आपतकालको अवस्था भएको पनि समाचारमा उल्लेख गरिएको छ ।
गत वर्ष जुनमा किमले कोभिड सम्बन्धी गम्भीर अपराध पश्चात् केही अधिकारीहरुलाई कारबाही गरेको केसीएनएले रिपोर्ट गरेको थियो । यसपछि सेप्टेम्बरमा भएको राष्ट्रिय सैन्य परेडमा पनि सेनाहरु हजमत सुट र मास्क लगाएको अवस्थामा देखा परेका थिए ।
उत्तर कोरियाको सिमाना चीन र दक्षिण कोरियासँग जोडिएको छ र दुवै देशले तिव्र संक्रमणको सामना गरिसकेका छन् ।
२ करोड ५० लाख जनसङ्ख्या रहेको उत्तर कोरियाले हालसम्म कोभिड विरुद्धको खोप कार्यक्रममा सहभागीता जनाएको छैन । बाहिरी देशबाट सहयोगका रुपमा आएको खोप समेत भित्र्याउन नमान्दा समस्याले गम्भीर रुप लिन सक्नेबारे चिन्ता व्यक्त गरिएको छ ।
अहिलेसम्म उत्तर कोरियाले कोभिड संक्रमणबाट बच्न केवल सिमाना बन्द गर्ने उपाय अपनाउँदै आएको छ ।
२०२० देखि नै देशका सिमानामा अत्याधिक कडाइ गरिएको छ । तर यसैका कारण खाद्यान्न आयातमा पनि रोकावट आएपछि देशव्यापी अभाव सुरु भएको हो भने अर्थतन्त्रमा गम्भीर प्रभाव परिरहेको छ ।
बिहीबारको समाचारमा केसीएनएले भाइरसलाई नियन्त्रण गर्न किमले अधिकतम आपतकालीन उपाय लगाउन र स्थानीय लकडाउनको निर्देशन दिएको जनाएको छ । साथै कार्यस्थलमा भेला हुन पनि निषेध गरिएको छ ।
यसमा ओमिक्रोन भेरियेन्टबाट संक्रमित पहिलो बिरामी चार दिन अगाडि फेला पारिएको भनिएको छ ।
यो खबरपछि दक्षिण कोरिया सरकारले कुनै मानवीय सहायताको आवश्यकता परेमा आफूहरु सहयोग गर्न तयार रहेको प्रस्ताव गरेको छ तर प्योङयोङबाट कुनै प्रतिक्रिया आएको छैन । बीबीसी ।