• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेनी सेनाका कमाण्डरले भावुक हुँदै एलन मस्कसित मागे गुहार

बैशाख २९ २०७९, बिहीबार

काठमाडौं । रुससित युद्ध लडिरहेको युक्रेनको सेनाका एक कमाण्डरले विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कसित आफूलाई उद्धार गर्न मद्धत मागेका छन् ।

युक्रेनको मारिउपोलमा रहेको एजोभस्टल स्टिलवर्कमा अन्य लडाकूसँग लुकेका युक्रेनी मरीन कमाण्डरले मस्कसँग मद्दत मागेका हुन् । ती कमाण्डरले ट्वीट गर्दै यस्तो मद्धत मागेका हुन् ।

उनले मस्कसित युक्रेनको दक्षिणी सहरबाट सुरक्षित रूपमा बाहिर निस्कन मद्दत गर्न अपिल गरेका छन् । विगत केही सातादेखि रुसी सेनाले उक्त क्षेत्रलाई आफ्नो कब्जामा लिएका छन् र लगातार आक्रमण गरिरहेका छन् ।

कमाण्डर सेरी भोलिनाले ट्वीटर पोस्टमा लेखेका छन्, ‘मानिसहरूले तपाईं अर्को ग्रहबाट आउनुभएको भन्छन् र तपाईं जे असम्भव छ, त्यो सम्भव गर्न आउनुभएको पनि भन्छन् ।’

ट्वीटमा थप लेखिएको छ, ‘हाम्रो ग्रह एक-अर्काको नजिकै छ । हाल अहिले म जहाँ छु, त्यहाँ बाँच्न लगभग असम्भव जस्तै छ । हामीलाई अजोवस्तलबाट बाहिर निकाल्न मद्दत गर्नुहोस् । यदि तपाईंले हाम्रो मद्दत गर्नुहुन्नँ भने अरु कसले गर्ला र ? मलाई केही संकेत मात्रै भएपनि दिनुहोस् ।’

अर्को फेसबुक पोस्टमा, भोलिनाले एलन मस्कलाई सुपरम्यानको रूपमा वणर्न गर्दै मद्दतको लागि अपील गरेका छन् ।

यद्यपि, मस्कको यो पोस्टमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । मारियुपोलको यस क्षेत्रमा धेरै युक्रेनी लडाकु र धेरै मानिस फसेका छन्, उनीहरुलाई उद्धार गर्ने सबै प्रयास अहिलेसम्म असफल भएका छन् । तर, पछिल्ला दिनमा सयौं नागरिकलाई त्यहाँबाट जान पनि दिइएको छ ।

युक्रेन अमेरिका र पश्चिमा राष्ट्रहरुको उक्साटहमा छिमेकी रुससित युद्ध लडिरहेको छ । पश्चिमा देशहरु रुसलाई घेराबन्दी गर्नका लागि युक्रेनलाई प्रयोग गरिरहेका छन् । अमेरिकाकै जोडबलमा युक्रेन रुसबाट अलग भएको हो ।

आज विश्वभर रुस-युक्रेन युद्धको चर्चा छ । यही युद्धकै कारण विश्वमा आर्थिक तथा खाद्यसंकट पर्दै गएको छ । यो युद्धले विस्तारै विश्वयुद्धको रुप लियो भने संसारभर यसको असर पर्ने अनुमान गरिएको छ ।