विश्वका सबैभन्दा धनी अर्बपति एलन मस्कले अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई साथ दिने भएका छन् ।
उनले यदि आफ्नो ट्विटर किन्ने प्रस्ताव सफल भएमा आफूले पूर्वराष्ट्रपति ट्रम्पलाई सो प्लेटफर्ममा लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् ।
गत महिना विद्युतीय कार निर्माण कम्पनी टेस्लाका प्रमुख कार्यकारिणी अधिकारी मस्कले ट्विटर खरिदका लागि ट्विटर बोर्डसँग ४४ अर्ब अमेरिकी डलरको प्रस्ताव अघि सारेका थिए । तर, उनले यो सम्झौताले अन्तिम रूप लिइनसकेको र आगामी दुई वा तीन महिनाभित्र प्रक्रिया पूरा हुनसक्ने बताएका थिए ।
भविष्यका कार सम्मेलनमा मस्कले फाइनान्सियल टाइम्सलाई भनेका छन्, “पूर्वराष्ट्रपति ट्रम्पमाथि बन्देज लगाउने ट्विटरको निणर्य नैतिकरूपमा गलत र चरम मूर्खता हो । मैले ट्विटर किनेको खण्डमा त्यो स्थायी प्रतिबन्ध फुकुवा गर्नेछु तर अहिलेसम्म ट्विटर मेरो स्वामित्वमा आइसकेको छैन । त्यसैले अहिले नै त्यस्तो हुने पक्का छैन ।”
अमेरिकाको राष्ट्रपतीय चुनावी नतिजालाई लिएर क्यापिटल भवनमा भएको दंगाबाजीपछि ट्रम्पको उक्साउने खालका अभिव्यक्तिका कारण थप हिंसा भड्किन नदिन भन्दै २०२१ को जनवरीमा ट्विटरले सधैंका लागि उनको एकाउन्ट बन्द गरिएको घोषणा गरेको थियो ।
प्रतिबन्धले ट्रम्पको मुख थुन्न सकेको थिएन । उनले आफ्नै “ट्रुथ सोसियल साइट” खोले । यसले उनको आवाज कटर दक्षिणपन्थीहरूमाझ पुर्याएको थियो ।
यद्यपि, ट्रम्पले पहिले नै ट्विटरमा नफर्कने बताइसकेका छन् । मस्कले ट्विटरका सह संस्थापक ज्याक डोर्सीसँग आपत्तिजनक ट्विट गरेवापत प्रयोगकर्ताहरूका एकाउन्ट बन्द गर्ने विषयमा छलफल गर्न आफूले कुरा राखिसकेको पनि जानकारी दिएका छन् ।