• फाल्गुन २६ २०८२, मंगलवार

चारवर्षे बालकले आमाको कार सुटुक्क लिएर हिँडेपछि……..

बैशाख १९ २०७९, सोमबार

काठमाडौँ। नेदरल्यान्ड्समा एक चारवर्षे बालकले आफ्नी आमाको कार सुटुक्क चलाएर सडकमा पुर्‍याएपछि उक्त घटनाको चर्चा भएको छ।

युट्रेक्ट सहरमा शनिबार बिहानै ती बालकले चलाएको कार पार्क गरेर राखिएका अन्य दुई सवारीसाधनमा ठोकिएको थियो। उक्त दुर्घटनामा कोही पनि घाइते भने नभएको बताइएको छ।

कार ठोकिएर रोकिएपछि पाइजामा लगाएका ती बालक कारको ढोका खोलेर खाली खुट्टा बाहिर निस्किएका थिए।

चिसोमा एउटा बालक एक्लै हिँडिरहेको देखेपछि प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेका थिए। जानकारी लगत्तै प्रहरी उक्त स्थानमा पुगेको थियो।

प्रहरीले नजिकै पार्क गरिएका दुईवटा गाडीमा आएर जोतिएको उक्त्त कारधनीको नाम पत्ता लगाएपछि उनलाई खबर गरेको थियो । कारधनी ती बालककी आमा थिइन्।

प्रहरीले उनकी आमा चौकीमा आउन्जेलसम्म ती बालकलाई हट चकलेट र एउटा खेलौना दिएर राखेको थियो।

घटनाबारे स्पस्ट हुन प्रहरीले आमा र छोरालाई लिएर दुर्घटनास्थलमा पुगेको थियो । त्यहाँ ती बालकलाई गाडी कसरी चल्यो भनेर सोधिएको थियो।

प्रहरीका अनुसार ती बालकले फेरि साँचोले कारको ढोका खोले, चलाउने ठाउँमा साँचो हाले अनि क्लच र पेडल खुट्टाले थिचे।

प्रहरीले ती बालकले  स्टेरिङ घुमाए जसरी गाडी चलाएको नक्कल गरेको बताएको छ।

बालककी आमाले भने आफ्नो बच्चा ‘निकै टाठो’ भएको बताएकी छन्।

उक्त घटनापछि प्रहरीले बच्चाले नभेट्ने ठाउँमा गाडीको साँचो राख्न उनका आमाबाबुलाई आग्रह गरेको छ। बीबीसी ।