• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

बैशाख ९ २०७९, शुक्रबार

काठमाडौँ। अमेरिकाले युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ।

८० करोड डलर बराबरको उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्।

उक्त सहायता “सीधा स्वतन्त्रताको अग्रपङ्क्तिमा” पठाइने बाइडनले बताएका छन्।

यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्।

गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको बताइएको छ।

यसैबीच क्रेम्लिनले पूर्वी युक्रेनमा आफ्नो आक्रमण जारी राख्दै डोनबास क्षेत्रका ४० भन्दा बढी गाउँहरू कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्।

तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारिओपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन्।

उनले त्यहाँ अझै युद्ध जारी रहेको र युक्रेनी प्रतिरोधलाई मद्दत गर्न कूटनीतिक र रणनीतिक उपायहरूमा विचार गरिरहेको बताएका छन्।

रुसले उक्त सहर कब्जा गरेको बताएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले पनि मारिओपोल पूर्ण रूपमा रुसी नियन्त्रणमा गएको भनिएको कुरा “शंकास्पद” रहेको बताएका बिबिसीले जनाएको छ।

मारिओपोल सिटी काउन्सिलले प्रकाशित गरेको एउटा तस्बिरमा रुसी सेनाले उक्त सहरको सामूहिक चिहानमा कैयौँ शवहरू पुरिरहेको जस्तो देखिएको भए पनि त्यसबारे स्वतन्त्र रूपमा पुष्टि भने भइनसकेको बताइएको छ।