• फाल्गुन २६ २०८२, मंगलवार

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली प्रहार, कम्तीमा एक जनाको मृत्यु

बैशाख ७ २०७९, बुधबार

काठमाडौँ। श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएको बीबीसीले जनाएको छ ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मध्य श्रीलंकाको राम्बुक्काना शहरमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको भिडियो श्रीलंकाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ भाइरल भएको बताइएको छ ।

यता प्रहरीले भने प्रदर्शनकारीमाथि ‘न्यूनतम बल’ प्रयोग गरेको दाबी गरेको छ । श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि, अमेरिकी तथा युरोपेली राजदूतहरुले घटनाको निन्दा गरेको जनाइएको छ।

सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पछिल्ला केही सातायता सरकारविरोधी प्रदर्शन चलिरहेको छ ।