काठमाडौँ। युक्रेनी फौजले रुसी इन्धन डिपोमा आक्रमण गरेका छन् । रुसको पश्चिमी बेलोगोरोद शहरमा रहेको इन्धन डिपोमा दुई युक्रेनी सैनिक हेलिकोप्टरले आक्रमण गरेको सो क्षेत्रका गभर्नरले शुक्रबार बताएका छन्।
सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै बेलोगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले कम उचाईमा उडेका दुई युक्रेनी हेलिकोप्टरले इन्धन डिपोलाई लक्षित गरी आक्रमण गरेको बताए । आक्रमणबाट उक्त डिपोमा आगलागी भएको उनको भनाइ छ ।
गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेयता युक्रेनले रुसी भूभागमा आक्रमण गरेको यो पहिलो घटना भएको जनाइएको छ । यद्यपि यस घटनाबारे युक्रेनी रक्षामन्त्रालयले कुनै टिप्पणी नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।