• फाल्गुन २६ २०८२, मंगलवार

डोनाल्ड ट्रम्पले हाले क्लिन्टन विरुद्ध मुद्दा

चैत्र ११ २०७८, शुक्रबार

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टन विरुद्ध मुद्दा हालेका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावी अभियानका बेला हिलारीले षडयन्त्र गरेको भन्दै फ्लोरिडास्थित संघीय अदालतमा मुद्दा हालेका हुन् ।

ट्रम्पले हिलारीसहित अन्य २६ जना तथा षडयन्त्रमा संलग्न भएको ठानिएका विभिन्न निकायहरु विरुद्ध समेत मुद्दा हालेको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

ट्रम्पले अदालतमा हालेको मुद्दामा चुनावी अभियानका क्रममा हिलारी र उनको समूहले आफूलाई रुससँग साँठगाँठ गरेको भनेर गलत आरोप लगाएको उल्लेख समेत छ ।

उनले क्षतिपूर्तिस्वरुप ७ करोड २० लाख तिर्नुपर्ने माग समेत गरेका छन् । ट्रम्पले एफबीआईका पूर्व निर्देशक जेम्स कोमीसहित अन्य अधिकारी, बेलायतका गुप्तचर क्रिस्टोफर स्टिल तथा उनका सहयोगी र हिलारीको चुनावी अभियानका केही सल्लाहकारविरुद्ध समेत मुद्दा हालेको सीएनएनले जनाएको छ ।

उनीहरू सबैले नक्कली आरोप लगाएर ट्रम्पको अपमान गर्न खोजेको मुद्दामा उल्लेख छ ।