• फाल्गुन २६ २०८२, मंगलवार

रुसविरुद्ध विश्वका मानिस सडकमा उत्रिन युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

चैत्र १० २०७८, बिहीबार

काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको विरुद्ध विश्वभरका मानिसलाई सडकमा उत्रिन अपिल गरेका छन् ।

रुसले आफ्नो देशमा आक्रमण गरेको एक महिना पुगेको दिनमा राष्ट्रपति जेलेन्स्कीले बिहीबार विश्वभरमा मानिसलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन आग्रह गरेका हुन् ।

आफ्नो दैनिक सम्बोधनका क्रममा केहीबेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्,’ उनले भने, ‘मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस् ।’

उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए ।उनले रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने बताए ।

रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले बताए ।

ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको हो। बीबीसी