काठमाडाैं । नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा बैंक तथा वित्तीय संस्था विदा हुने सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको सूची अनुसार करिब ४४ दिन बैंकका कर्मचारीलाई विदा हुने भएको हो । यस पटक दसैँको विदा ७ दिन परेको छ । असोज १० गते घटस्थापनाका दिन विदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म बैंक कर्मचारीलाई विदा हुने भएको छ । त्यस्तै तिहारमा ५ दिन विदा दिइएको छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म तिहार विदा छ । ५ वटा विदा भने सरकारले निर्णय गरेबमोजिम कायम हुने राष्ट्र बैंकले जनाएको छ । यी बाहेक प्रत्येक शनिबार विदा हुनेछ ।
वैशाख १ देखि कात्तिक १५ सम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ भने कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बैंकिङ कारोबार हुने जनाइएको छ ।