काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति आपत्ति जनाएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेको हो ।
‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ। हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो समय गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं।’