काठमाडौं । प्रत्यक वर्ष होलीमा रंग खेल्ने संस्कृति रहिआएको छ । यो संस्कृति व्यापक हुँदै गएपछि नेपालको वैदेशिक व्यापारमा समेत असर पर्न थालेको छ ।
जसका कारण रंग किन्नकै लागि ठूलो मात्रामा नेपालबाट पैसा विदेशिएको छ । होलीमा खेलिने रंग, बेलुन र पीचकारी आयात गर्दा पछिल्लो वर्ष नेपालबाट अर्बौं रुपैयाँ बाहिरिएको समाचारहरु आएका छन् । होली पर्व मनाउने सामान पनि विदेशबाटै किन्नुपर्दा व्यापारघाटा थप चुलिएको हो ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना (माघ) सम्ममात्रै करिब २ अर्ब रुपैयाँको रंग आयात भएको छ । विश्वका विभिन्न मुलुकबाट माघसम्ममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रंग भित्रिएको विभागको तथ्यांकले जनाएको छ । आयात गरिएकोमध्ये अधिकांश रंग होलीकै लागि हो ।
व्यापक रूपमा होली मनाउन थालिए पनि यसमा प्रयोग हुने सामान नेपालमा उत्पादन हुँदैन । उत्पादन भएपनि बजारको माग धान्नेगरी उद्योगहरूले आपूर्ति गर्न नसक्ने गरेको विभागको आयात तथ्यांकले देखाउँछ । यसबाहेक, पीचकारी, बेलुन र होलीमा प्रयोग हुने ‘ह्याप्पी होली’ अंकित वा होली विशेष टिर्सटसमेत विदेशबाटै भित्रिन्छ ।
सात महिना अवधिमा सबैभन्दा धेरै रंग दक्षिण छिमेकी मुलुक भारतबाट आयात भएको छ । विभागका अनुसार भारतबाट साउनदेखि माघ महिनासम्ममा १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको रंग भित्रिएको छ । भारतपछि चीनबाट सबैभन्दा धेरै रंग आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को सात महिना अवधिमा १ अर्ब ७६ करोड रुपैयाँको रंग भित्रिएको थियो । गत वर्ष विश्वव्यापी रूपमा कोरोना महामारीको दोस्रो लहर चलिरहेकाले सबैजसो वस्तु आयातमा कमी आएको थियो ।
यस्तै, होलीजस्ता पर्व नमनाउन र सजगता अपनाउन सरकारले निर्देशन गरेकाले यस प्रकारका सामान आयात घटेको हो । जसले मुख्यगरी होलीमा खपत हुने रंग, बेलुन र पीचकारी जस्ता वस्तुको आयात घटाएको थियो ।
गत आर्थिक वर्ष २०७७/७८ मा भने कुल ३ अर्ब ४८ करोड रुपैयाँको रंग भित्रिएको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब १ करोड रुपैयाँको र २०७४/७५ मा ३ अर्ब २७ करोडको रंग भित्रिएको विभागको तथ्यांक छ ।
यसबाहेक बंगलादेश, मलेसिया, ताइवान, नेदरल्याण्ड, बेल्जियम, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, स्पेन, नेदरल्याण्ड, मेक्सिको, अमेरिका, बेलायत र जर्मनीबाट समेत केही परिमाणमा रंग आयात भएको देखिन्छ । ती मुलुकहरूबाट नेपालीले होली खेल्न प्रयोग गर्ने रंग भित्रिने गरेको हो । यस्तै, पीचकारी र बेलुन भने चीनबाट भित्रिने विभागको भनाइ छ ।
निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपालमा रंग उत्पादन गर्ने कम्पनीहरूबारे आफुहरूलाई जानकारी नरहेको बताए । उनले नेपालमा स्थापना उद्योगहरू र धेरथोर निर्यात गर्ने उद्योगहरूबारे महासंघले जानकारी हुने भएपनि यस्ता प्रकारका उद्योगबारे जानकारी नरहेको बताएका हुन् ।
‘नेपालमा प्रयोग हुने सबै प्रकारका सिन्दुर, केशरी र अबीरलगायत सबै रंग भारतबाटै आउँछ,’ उनले भने, ‘यस्ता उद्योगबारे थप जानकारी छैन ।’ पीचकारी र बेलुन चीनबाट आउने गरेको उनको भनाइ छ ।