• श्रावण १० २०८३, आईतवार

ऊर्जामन्त्री भुसालको आह्वान- ‘पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ, विद्युतीय उपकरण प्रयोग गरौँ’

फाल्गुन २८ २०७८, शनिबार

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छिन ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेकी हुन्। ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युतको महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “यहाँहरूलाई मेरो विशेष अपिल छ, विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्याससभन्दा सस्तो छ ।”

हाल एक सिलिन्डर ग्यासको मूल्य एक हजार पाँच सय भन्दाबढी भएको छ । त्यसको मूल्य निरन्तर बढ्दै जानेछ । त्यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ । एक लिटर पेट्रोलको मूल्य १५० रुपियाँ तथा एक लिटर डिजेलको मूल्य १३० रुपियाँ भन्दाबढी पुगेको र आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले भनिन्, “दिनदिनै पेट्रोलको मूल्य बढेको छ, गाडी किन्नेले पनि अब विद्युतीय नै किन्नुपर्छ ।”

ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट परिन् । उनले भनिन्, “घरभेटीको सहमतिमा डेरावालाले पनि छुट्टै विद्युत मिटर राख्न सक्नेगरी मैले निर्णय गराएको छु । विद्युत प्राधिकरणमा सम्पर्क गर्नु होला ।”

विद्युतीय उपकरण प्रयोग गर्दा देशको आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री भुसालले देशमा विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युतको भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्नका लागि सहयोग गर्न आग्रह गरिन् । आगामी आर्थिक वर्षदेखि कृषिका लागि आवश्यक पर्ने विद्युत निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिमा आत्मनिर्भर बनाउन सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन आफूले विशेष पहल गरेको र कृषकलाई अधिकतम फाइदा पुग्नेगरी ऊर्जाको सुनिश्चिता गर्ने वचन पनि दिइन् ।