• फाल्गुन २६ २०८२, मंगलवार

रुस र बेलारुसबीच पश्चिमासित मिलेर लड्ने सहमति

फाल्गुन २८ २०७८, शनिबार

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोका बीचमा पश्चिमा देशहरुसँग संयुक्त रुपमा उभिनेमा सहमत भएका छन् ।

सैन्य लगायतका विषयमा सहकार्य गर्दै आएका ती दुई छिमेकी देश युक्रेन समस्याको संयुक्त रुपमा हल गर्नेमा समेत सहमत भएका छन् ।

पुटिन र लुकासेन्कोबीच शुक्रबार मस्कोमा भेट वार्ता भएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । पुटिनलाई भेट्न लुकासेन्को मस्को पुगेका थिए । यसअघि युक्रेन युद्धमा रुसलाई साथ दिने बेलारुसले बताएको थियो । तर, सेना अहिलेसम्म पठाएको छैन ।

रुस र युक्रेनलाई शान्तिपूर्ण समाधानको लागि वार्ताको मध्यस्थकर्ताको काम गरिरहेको बेलारुसले अब भने युद्धमै सहभागी हुने संकेत गरेको छ । पुटिन र लुकासेन्को बीचको भेटपछि बेलारुसी सेना युक्रेनको सीमा क्षेत्रमा सैन्य अभ्यास गरिरहेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

युक्रेनलाई अमेरिकासहित पश्चिमा देशहरुले हतियारसहित युद्ध लम्ब्याउने देखेपछि रुस र बेलारुसका नेताबीच भेट भएको हो । नेटो आफू युद्धमा सहभागी नभएपनि युक्रेनी सेनालाई युद्ध सामाग्री उपलब्ध गराउँदै आएको छ । अमेरिका, नेटो, इयूको सहयोगकै कारण युक्रेनले १७ दिनसम्म युद्धलाई थेकेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोको सदस्यता नलिने घोषणा गरेका छन् तर, रुसले अन्य मागमा सहमति जनाएका छैनन् । जेलेन्स्कीको बालहठकै कारण युक्रेन भग्नावशेषमा परिणत हुँदै गएको छ ।

पश्चिमा देशहरुले युक्रेन युद्धलाई लम्ब्याउने रणनीति लिएपछि रुस र बेलारुसले संयुक्त रुपमा त्यसको प्रतिवाद गर्ने निष्कर्षमा पुगेको बताइएको छ । बेलारुसले रुसी सेनालाई आफ्नो भूमि प्रयोग गर्न अनुमति दिइसकेको थियो ।

परमाणु हतियारको चर्चा चलेपछि बेलारूसले आफ्नो देशहमा रुसलाई त्यस्तो हतियार राख्न अनुमति दिन सक्ने बताएको थियो । युक्रेनले सुरक्षा चासोलाई बेवास्ता गरेर नेटोको सदस्य बन्न लागेपछि रुस–युक्रेनवीच तनाव उत्पन्न भएको थियो ।

रुसले लामो समयसम्म नेटो सदस्य नबन्न भनेपनि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नमानेपछि तनाव युद्धमा बदलिएको छ । आज रुसले युक्रेनमा हमला सुरु गरेको १७ दिन पुगेको छ । रुसले युकेका अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिएर स्थानीय अधिकारीको सहयोगमा प्रशासनिक कामकारवाही चलाइरहेको छ ।

फसेकाहरुलाई बाहिर निकाल्न रुसले युद्धविराम गरेपनि युक्रेनी सेनाले निस्कन दिइरहेका छैनन् । रुसी संचार माध्यमहरूले युक्रेनी सेनाले नागरिकलाई युद्धमा मानव ढाल बनाइरहेको आरोप लगाएका छन् ।

यसैबीच रुसी सेना युक्रेनको राजधानी किभको पाँच किलोमिटर नजिक पुगिसकेको छ ।