काठमाडौं । एकजना भारतीय युवा युद्धरत युक्रेनमा जनावरसित रमाइरहेका छन् । युद्धमा फसेका मानिसहरुको ज्यान जोगाउने चिन्ताकाबिच उनी जनावरको रक्षाका लागि जुटिरहेका छन् ।
भारती गिरीकुमार पाटिलले रुस–युक्रेनबाट जनावरहरुलाई नकारात्मक असर नपरोस् भनेर उनले जनावरहरुसित रमाएको र उनीहरुको स्याहार गरिरहेका हुन् ।
उनले आफूले युक्रेनको राजधानी किएभको चिडियाखानाबाट किनेका ती दुई जनावरबिना त्यहाँबाट निस्केर अन्यत्र नजाने बताए । उनी पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रहेको सानो सहर सेभेरोडोनेत्स्कमा छ वर्षभन्दा बढी समयदेखि बस्दै आएका छन् ।
रुस र युक्रेनबिच युद्ध सुरु भएदेखि गिरीकुमार आफ्नो साँघुरो कोठाबाट हरेक दिन सबेरै एकपटक कफ्र्यु हट्दा बाहिर निस्कन्छन् । सो समयमा उनी ती आफ्ना जनावरहरू २० महिने भाले ज्यागुआर र छ महिने पोथी प्यान्थरको लागि खाना किन्न निस्कने गर्छन् ।
आफूसँग भएको ज्यागुआर भाले चितुवा र पोथी ज्यागुआर बीचको दुर्लभ ठिमाहा भएको उनको भनाइ छ । हाल आफूले छिमेकी गाउँहरूबाट २३ किलो भेडा, टर्की र कुखुराको मासु सामान्य अवस्थामा भन्दा चार गुना बढी मूल्य तिरेर किनेको गिरीकुमार बताए ।
‘मेरा ठूला जनावरहरू मसँगै बेसमेन्ट कोठामा रात बिताइरहेका छन् । हाम्रो वरपर थुप्रै बम विस्फोट भइरहेका छन् । विस्फोटको आवाजबाट यी जनावरहरू डराउँछन् । तिनीहरूले आहारा पनि कम खाइरहेका छन् । तर म तिनीहरूलाई छोड्न सक्दिनँ, ‘४० वर्षीय पाटिलले भने । स्रोतः बीबीसी ।