काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेले आइतबार उनको देशमा लामो समयदेखि जारी एक प्रतिबन्धलाई तोड्नुपर्ने बेला आएको र परमाणु हतियारमाथि सक्रिय बहस सुरु गर्नुपर्ने समय आएको बताएका छन् ।
आबेले नेटोजस्तै सम्भावित ‘न्यूक्लिर–शेयरिङ’ प्रोग्रामको कुरा गरेका छन् । युक्रेनमाथि रुसी हमलाका बीच आबेको यो टिप्पणी निकै महत्वपूर्ण मानिएको छ ।
आबेले टिभी प्रोग्राममा भने, ‘जापानले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको छ र यसमा तीन गैरपरमाणु सिद्धान्त छन् तर संसारलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्नका लागि केही प्रतिबन्ध लगाइएको छैन ।’
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छोडेका थिए तर सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अहिले पनि निकै सक्रिय छन् । जापान टाइम्सका अनुसार युक्रेनले सोभियत युनियनबाट अलग्गिने बेला सुरक्षाको प्रत्याभूतिका लागि केही परमाणु हतियार राखेको भए सायद उसले रुसी हमलाको सामना गर्नुपर्ने हुने थिएन भनेर आबेले बताए ।
आबेले भने, ‘सरकारले लगातार भन्दै आएको छ कि एशियाको सुरक्षाको वातावरण लगातार खराब भइरहेको छ । यसमा चीनको बढ्दो आक्रामक र उत्तर कोरियाको परमाणु कार्यक्रम पनि समावेश छन् । जापानले ती खतरालाई कसरी कम गर्न सक्छ भनेर नेटोको न्यूक्लियर–शेयररिङ व्यवस्था एउटा उदाहरण हो ।’