मस्को । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
डा. केसीले एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालीको समयमै उद्धारको पहलका नेपाल सरकारसँग आग्रह गरेका हुन् । ‘युद्ध भनेको युद्ध नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको सक्दो छिटो उद्धार गर्नु पर्छ । युद्ध नापेतौलेको जस्तो हुँदैन ।
नेपाल सरकार र युक्रेनमा रहेका नेपालीहरुबीच छिट्टै सम्पर्क स्थापित गरी त्यहाँ रहेका नेपालीको समयमै उद्धार गरिनु पर्छ । समन्वयका लागि एनआरएनए तयार रहेको देखिन्छ ।
रसिया र युक्रेनबीचको द्वन्द्वमा त्यहाँ रहेका नेपालीहरु त्रसित छन् । द्वन्द्वको बेला सर्वसाधारणमाथि हमला गरिने छैन् भनिए पनि गोलाबारुदको आँखा हुँदैन ।
अहिले युक्रेनी सैनिक अड्डाहरुमा मात्र आधुनिक क्षेप्यास्त्र हमला गरिएकाले सर्वसाधारण बाँच्नसक्लान् भन्ने छ । सर्वसाधरणको जीवनमा खासै खतरा नदेखिए पनि युद्धले कस्तो मोड लिन्छ, भन्न सकिने अवस्था छैन ।
युक्रेन सरकारले सर्वसाधरणलाई युक्रेनी फौजमाथि विश्वास गर्न भनेपनि अहिले युक्रेनीसेनाको निकै ठूलो हताहती हुँदै गएको छ । यो मात्रा बढिरहेको छ ।
यस्तो बेलामा एनआरएनए युक्रेनका पदाधिकारीहरुले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसँग जीवन्त सम्पर्क राख्दै आएका छन् । डा. केसीका अनुसार हालसम्म त्यहाँ रहेका सबै नेपालीहरु सकुशल छन् ।
डा. केसीले स्वयम् नेपाली दुताबास जर्मनी, रसिया तथा गैरआवासीय नेपाली संघ युक्रेनका पदाधिकारी र त्यहाँका नेपालीहरुसँग आफ्नो निरन्तर सम्पर्क रहेको र उनीहरुको समयमै उद्धार गरिनुपर्ने कुरामा जोड दिएका छन् ।