• मंसिर १३ २०८१, बिहीबार

थापाथलीचोक–प्रसूतिगृह सडक खण्ड म्याद सकिएको ८ महिनापछि कालोपत्रे

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौं । सडकमा कालोपत्रे गरिसक्नु पर्ने म्याद गुज्रिएको आठ महिनापछि थापपाथली–प्रसुतीगृहको सडक खण्ड पिच सुरु गरिएको छ । ठेक्का लिएको समयावधि सकिएपछि ‘बाटो नबन्ने भयो भनी स्थानीयले भनिरहेका बेला’ थापाथलीचोक–प्रसूतिगृह सडकखण्ड कालोपत्र सुरु भएको हो ।

ढिलाइका बारेमा स्थानीय आफै खुशी छैनन् । तर उनीहरुले काम ढिलाइका बारेमा थाह पाएका छैनन् । यसबारेमा महानगर सहरी पूर्वाधार विभागका प्रमुख रामबहादुर थापा भन्छन्, ‘पहिले मेलम्ची खानेपानी र विद्युत् प्राधिकरणअन्तर्गतको अन्डरग्राउन्डको काममा व्यस्त हुँदा पिच गर्ने कार्यक्रम ढिला हुन गएको हो ।’

थापाको थप भनाइ छ, ‘सडक पिच गर्ने काम सुरु गरेका छौँ, यसले अस्पताललगायत क्षेत्रमा आउजाउ गर्न सहज हुनेछ ।’ सडक पिच गर्ने काम सुरु भैसकेकाले पूरा भएपछि मात्र यो बाटोमा सवारी साधन हिँड्न दिइने काठमाडौं महानरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।

यो काम पूरा गर्नका लागि तीन–चार दिन लाग्ने अनुमान गरिएको छ । तण्डुकार स्वीकार गर्छन्, ‘ठेकेदार कम्पनीले पनि केही ढिलासुस्ती गरेको थियो, अन्य कामले पनि ढिलाइ हुन गएको हो ।’

उनको थप जोड छ, ‘अबका तीन–चार दिनमै पिच सक्ने गरी निर्देशन दिएका छौँ, गुणस्तरीय काम गर्न पनि भनेका छौँ ।’ कामका अवधिभर आफूहरुले वडा कार्यालयको तर्फबाट ठेकेदार कम्पनीले गरेको काममा निगरानी गरिरहेको उनले बताएका छन् ।

काठमाडौं महानगरपालिका र जयधनञ्जय र कँडेल जेभीबीच गएको असार १५ गतेभित्र सडक पिच गरिसक्नुपर्ने गरी १० महिनाको सम्झौता भएको थियो । सडकको कुल लागत चार करोड २२ लाख ८६ हजार ५८५ रुपैयाँ छ ।