काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले युक्रेनको विषयमा रसिया, युक्रेन र पश्चिमा राष्ट्र बीचमा बढिरहेको विवादको समाधान वार्ताबाटै खोजिनु पर्ने कुरामा जोड दिएका छन् । युक्रेनको विषयलाई लिएर गम्भीर रुपमा अन्तर्राष्ट्रिय तनाव उत्पन्न हुँदै गएपछि गुटेरसले गम्भीर चासो देखाएका हुन् ।
रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले यस्तो चिन्ता र चासो व्यक्त गरेका थिए । वार्तामा महासचिव गुटेरसले वर्तमान संकट समाधानका लागि वार्ता नै उपयुक्त माध्यम भएको कुरामा जोड दिएको उनका प्रवक्ता स्टेफेन डुजारिकले बताए ।
डुजारिका अनुसार युक्रेनमा बढ्दो तनावबारे महासचिवले दुबै देशका विदेशमन्त्रीहरुसँगको वार्तामा गम्भीर चासो व्यक्त गरेका थिए । वार्ताका बेला ‘तनाव शान्त पार्नका लागि जारिरहेको कूटनीतिक वार्ता’ को महासचिवले स्वागत गर्दै कूटनीतिको कुनै विकल्प नभएको कुरामा जोड दिएका थिए ।
महासचिव गुटेरस र उनका प्रवक्ता डुजारिकले आफूहरु हाल चलिरहेको कुटनीतिक वार्तामा भने विश्वस्त हुन नसकेको बताएका छन् । प्रवक्ता डुजारिक स्वीकार गर्छन्, ‘मलाई यो विश्वास छैन् कि उहाँको धारणा परिवर्तन भएको छ ।’
यसले युक्रन तनाव अझ गहिरिँदै र लम्बिदै गैरहेको देखाउँछ ।
(एजेन्सीको सहयोगमा)