काठमाडौं । रुस–युक्रेन सीमामा जारी विवादबारे ४८ घण्टाभित्र बैठक गर्न युक्रेनले रसिया र युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरुलाई आह्वान गरेपछि युक्रेन समस्या निकै तनावमा पुगेको देखिएको छ ।
विदेशमन्त्री दिमित्रो कुलेबाले सीमामा सुरक्षाकर्मीको तैनाथबारे विवरण दिन आफूहरुले गरेको औपचारिक आग्रहलाई रुसले बेवास्ता गरेको खुलासा गरेका छन् ।
सैनिक तैनाथीबारे ‘पारदर्शिता’ का लागि रसियाको योजना थाह पाउन आगामी ४८ घन्टाभित्र बैठक गर्न अनुरोध गर्ने अबको ‘अर्को एक वैकल्पिक कदम’ कुलेबाले जनाएका छन् ।
यस अघि नै युक्रेनको सीमामा एक लाख रुसी सुरक्षाकर्मी परिचालन भैसकेको पश्चिमा राष्ट्रहरुले रुसमाथि आरोप लगाइरहेका छन् ।
युक्रेनसँग मिलेर अमेरिकासहितको नेटोसेनाले संयुक्त सैन्य अभ्यास गर्न थालेकाले आफ्नो सुरक्षाका लागि रुसी सेना आफ्नै सीमा इलाकामा राखिएको क्रेमलिनले स्पष्टीकरण दिंदै आएको छ ।
रुसले आफ्नो सुरक्षाका लागि यी सबै कुरा गरिएकाले यो युक्रेनको हस्तक्षेप कसरी हुन जान्छ भनी पश्चिमा राष्ट्रहरुलाई प्रतिप्रश्न सोधिरहेको छ ।
तर पश्चिमा देशहरु भने रसियाले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको बताएका छन् ।
अमेरिकाले भने रुसले ‘जुनकुनै बेला’ पनि युक्रेनमाथि हवाइ हमला गर्नसक्ने भनी बमबारी गरेर हमला सुरु गर्न सक्ने भन्दै अमेरिकाले युक्रेनलाई सजग हुन भनिरहेको छ ।
अहिलेसम्म अमेरिकालगायत एक दर्जन बढी देशहरुले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन आह्वान गरेका छन् । अन्य केही देशहरुले राजधानी किभबाट कर्मचारीहरु फिर्ता बोलाइरहेका छन् ।
यो बीचमा युक्रेनले गत शुक्रवार भियना सम्झौता अनुसार रुसको मनसाय जान्न चाहेको छ । उक्त सम्झौतामा युरोपमा सहकार्य र सुरक्षाका लागि युरोपियन सुरक्षा तथा सहकार्य संगठन
(ओएससीई) निर्माण गरिएको छ ।
रुस र युक्रेनसहितका ५७ युरोपीय देशहरु यसको सदस्यका रुपमा रहेका छन् ।