काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई एक १९ वर्षका किशोरले प्राविधिक रुपमा निकै सास्ती दिने गरी पछ्याइरहेका छन् । विश्वको चर्चित टेस्ला कम्पनीका मालिक एलन मस्क प्राविधिक हिसाबले निकै अब्बल छन् र स्पेस एक्समार्फत् अन्तरीक्ष अन्वेशनमा निरन्तर लागिरहेका छन् ।
मंगल ग्रहमा पुगेर समाधी लिने चाहना राख्ने मस्क अहिले भने ती १९ वर्षिय किशोर ज्याक स्विनीको ‘एलन मस्क जेट’ नामक ट्वीटर अकान्टबाट हैरान हुन पुगेका छन् । ती किशोरले यो ट्वीटर मार्फत् मस्कको प्राइभेट जेटको लोकसन निरन्तर पछ्याइरहेका छन् ।
ती किशोरको यस्तो क्षमता देखेर एलन हैरान त भएका छन् नै साथै उनी खुशी पनि हुने गरेका छन् । यसकारण कि प्रविधिले एक पछि अर्को गरी गुणात्मता हासिल गरिरहेको छ र यसमा युवाहरु लागिपरेर आशातित सफलता हासिल पनि गरिरहेका छन् ।
त्यसैले मस्कले उनलाई विरोध गर्ने, मुद्दा हाल्ने भन्दा पनि फकाउने र साथ लिने प्रयत्न गरिरहेका छन् । उनले स्विनीलाई उक्त ट्वीटर अकान्ट बन्द गर्न अनुरोध गरिरहेका छन् । यसका लागि मस्कले ती युवालाई पाँच हजार अमेरिकी डलर दिने घाोषणा पनि गरिसकेका छन् ।
अमेरिकाको न्युज आउटलेट प्रोटोकलले जनाएअनुसार स्विनीले उक्त ट्वीटर बन्द गर्न मस्कसँग ५० हजार अमेरिकी डलर माग गरेका छन् । तर यसका बारेमा मस्क भने केही पनि बोलेका छैनन् ।
स्विनीको ट्वीटर एकाउन्टले सार्वजनिक रुपमा उपलब्ध एयर ट्राफिक डाटा मोनिटर गर्ने बोट्सको प्रयोग गरेर मस्कको प्राइभेट जेटको गतिविधि पछ्याइरहेको छ । यसले आफ्नो प्राइभेट जेटको सुरक्षामाथि खतरा निम्त्याएको मस्कको अनुभव रहेको छ ।
त्यसैले मस्कले स्विनीलाई उक्त अकान्ट बन्द गर्नका लागि अनुरोध गरिसकेका छन् । तर स्विनीको प्रत्युत्तर भने निकै कडा र खतरापूर्ण छ । स्विनी मस्कको अनुरोधबारे जानकार रहेको कुरा स्वीकार गर्दै भन्छन– ‘म यो ट्वीटर अकान्ट बनद गर्न तयार छु, तर यसको बदलामा तपाईले मलाई कलेज पढ्न पुग्ने पैसा र एउटा मोडल–३ कार मलाई दिनु पर्ने छ ।’
बर्गेनिङ र छलफलसँगै मस्कले आफू अरु कसैको पागलपनको सिकार हुन नचाहेको बताएका थिए । त्यसको प्रत्युत्तरमा मस्कले ‘५० हजार डलरमा कुरा सकाउँदा कसो होला’ भनेका थिए । यसमा मस्कको जवाफ सकारात्मक नै थियो ।
मस्कले ‘सोचुला’ भनेपछि अहिले स्विनी मख्ख परेर उनको प्रत्युत्तरको पर्खाइमा दिन बिताइरहेका छन् ।
(एजेन्सीको सहयोगमा)