• मंसिर १३ २०८१, बिहीबार

आकाशिएको चिनीको मूल्य र कालाबजारीबारे सरकार किन मौन ?

माघ १७ २०७८, सोमबार

काठमाडौं । चिनी उत्पादन हुने सिजनमै चिनीको मूल्य निकै आकाशिएको छ । सिजनमै प्रतिकिलो १ सय रुपैया मूल्य भएपछि उपभोक्तामा निकै तनाव सिर्जना हुन गैरहेको छ ।

हरेक वर्ष सिजनमा चिनीको मूल्य केही सस्तो भएर आउँथ्यो । मात्र चाड पर्वका बेला यसको मूल्यमा केही बढी हुने गरेको थियो । यो पर्वका बेलामा मात्र कायम रहन्थ्यो । त्यसपछि यो साबिककै मूल्यमा झर्दथ्यो ।

तर अहिले परिस्थिति त्यसो रहेन । सिजनकै बेलामा यो आकाश छुने गरी बढेर स्थिर मूल्यका साथ आइपुग्यो । यसले अब आउने चापर्वका बेलामा आकस्मिक मूल्यमा निकै बृद्धि हुने संकेत गरिरहेको छ ।

हाल प्रतिकेजी १ सय रुपैयाँ कायम गरिएको चिनीको मूल्य अत्यधिक माग हुने दशैं तिहारजस्ता पर्वमा ह्वात्तै बढेर जाने देखिन्छ । कोरोना महामारीले च्यापिरहेका बेला सर्वसाधरणको चुल्हो राम्ररी बल्न पनि सकिरहेको छैन ।

यस्तो बेलामा दिनहुँजसो जनताको भान्सामा उमालिने कालो चियाले पनि सर्वसाधरणको सातो हरण गरिदिने देखिएको छ । तर यसका बारेमा सम्बन्धित निकाय, विभाग तथा सरकार केही पनि बोलिरहेका छैनन् ।

यसको पछाडि सरकार, सरकारका उच्चपदस्थ कर्मचारी र उद्योगी व्यवसायीको बीचमा मिलेमतो रहेको हुनसक्ने विश्लेषकहरुको ठहर छ । यसैका कारण सिजनको समययमा पनि चिनीमा मनलाग्दी मूल्य निर्धारण र कार्यान्वयन भैरहेको छ ।

आश्चर्यको कुरा त के रहेको छ भने यस आर्थिक वर्षदेखि सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयातका लागि अनुमति पनि दिएको छैन । त्यति मात्र होइन, साल्ट ट्रेडिङसँग अहिले मौजदात चिनी पनि नरहेको प्रचार भैरहेको छ ।

यसमा कालो बजारीमा लागेका व्यापारीहरु तथा सरकार र सरकारी निकायका बीचमा गम्भीर खालका सम्झौता हुन गएको आशंका पनि गरिएको छ । सरकारमा रहेका दलहरु तथा प्रतिपक्षमा रहेका राजनीतिक दलहरु अबका केही महिनाभित्रै तीन तहको महंगा निर्वाचनहरु सम्पन्न गर्दै छन् ।

यसका लागि उनीहरुलाई असिमित बजेटको आवश्यकता परिआएको छ । यसको जोहोका लागि अहिले चिनी मिलहरु उनीहरुको ‘अर्जुन दृष्टि’मा परिरहेका देखिएका छन् । यसैको कारण हुन सक्छ, सरकार यसका बारेमा केही पनि बोलिरहेको छैन । सरकार मातहतका नियामक निकायहरु पनि काम गर्न सक्ने अवस्थामा छैनन् ।

कालाबजारी ब्याप्त छ । उपभोक्ता मारमा परिरहेका छन् । जनताका निर्वाचित जनप्रतिनिधिहरुको सरकार र त्यसैको राज छ । यस्तो बेलामा चिनीमा भएको कालाबजारीबारे बोल न सरकार !