काठमाडौं । रुसको प्रहरीले साइबर हमला गरी फिरौती असुलिरहेको एक समूहलाई नियन्त्रणमा लिएको छ । सो समूहको सञ्जाल संसारभर फिँजिएको बताइएको छ । अमेरिकाले कसैले सो साइबर समूहलाई गिरफ्तार गरेर बुझाएमा एक करोड अमेरिकी डलर पुरस्कार दिने भनेर घोषणा गरेको थियो । यसैबीच रुसले सो समूहलाई गिरफ्तार गरेको बताएको छ । ‘यान्समवेयर’ नाम गरेको सो ह्याकर समूह रुसमा पक्राउ परेपछि रुसका आधिकारीहरुले सो समूह साइबर हमला र फिरौतीमा संलग्न रहेको भन्दै ‘रिभील’ समूह तोड्न सफल भएको बताएका छन् । रुसमा पक्राउ परेका सो समूहका अधिकांश सदस्यहरुमाथि मुद्दा चलाइएको छ ।
सो समूह पक्राउ परेसँगै रुसको गुप्तचर विभाग एफएसबीले उक्त समूहको अस्तित्व समाप्त भएको जानकारी दिएको छ । रुसको सरकारी समाचार सेवा तासका अनुसार रिभील समूहले खराब सफ्टवेयर निर्माण गरेर विदेशी नागरिकका बैंक खाताबाट संगठित रुपमा पैसा चोरी गर्ने गरेको थियो । अमेरिकाले दिएको सूचनाको आधारमा ती ह्याकरहरु पक्राउ गरेको बताइए पनि रुसले उनीहरुलाई अमेरिका सुपुर्दगी भने नगर्ने बताएको छ । पक्राउ परेकाहरु रुसी नागरिकहरु हुन् ।
पैसा पनि बरामद
एफएसबीले पक्राउ परेको उक्त समूहबाट ४० करोड रसियन रुबल (६६ करोड बराबर नेपाली रुपैयाँ) र ७ करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी समेत बरामद गरेको जानकारी दिइएको छ । पक्राउ परेको सो समूहका सदस्यबाट अपराधिक क्रियाकलापबाट कमाएर किनिएका करिब दुई दर्जन अत्यधिक महंगा कारहरु समेत बरामद गरेको बताइएको छ ।
एफएसबीले एक प्रेस वक्तव्य मार्फत् अब उक्त संगठित समूहको अस्तित्व समाप्त भएको बताएको छ । उसले भनेको छ,‘उक्त संगठित अपराधिक समूहको अस्तित्व समाप्त भएको छ र उनीहरुको अपराधिक प्रयोजनको लागि भएका सूचना र उनीहरुका पूर्वाधारहरु प्रयोग गर्न नसकिने बनाइएका छन् ।
अमेरिका र रुसबीच आपसी सम्बन्धमा चिसोपन आएको बेला रुसले यस्तो कदम चालेको छ । रुसले अमेरिकी सैन्य गठबन्धन नेटो थप विस्तार नहुने सुनिश्चितता अमेरिका लगायत पश्चिमा देशहरुले गर्नुपर्ने माग गर्दै आएको छ भने उसले युक्रेनको सीमा नजिक आफ्ना सैनिकहरु पनि तैनाथ गरेको छ ।
एफएसबीले ह्याकर पक्राउ गरेको एउटा भिडियो समेत सार्वजनिक गरेको छ।
हेरौँ भिडियो⇓