काठमाडौं । अस्तव्यस्त बनाइएको नेपाली शिक्षा क्षेत्रमा कहिलेसम्म विद्यार्थीहरुले दुःख पाउने होला भनेर हाल पनि बहस चलिरहेको छ ।
सिटिइभिटी मातहतका कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरु विगत ९ महिनादेखि नतिजा कुर्दै आएका छन् । समयमै सिटिइभिटीद्वारा प्रदान गरिने प्राविधिक शिक्षा पढ्न पाउनु पर्छ भन्ने एउटा ठूलो सपना बनाएर पढ्न सुरु गरेका लाखौं विद्यार्थीको सपना सपनामै सीमित भइरहेको छ ।
विविध कारणवश परिक्षा त्यसै त ढिलो भयो झन त्यसमाथि वर्ष दिन पुग्न लाग्दा पनि अहिलेसम्म पहिलो वर्षको परिक्षाको नतिजा आएको छैन । यता सेमेष्टर प्रणालीमा हेर्ने हो भने झन् एक सेमेष्टरको समय नै गुमिसक्यो । एकातिर समयको बर्बाद भयो भने अर्कोतिर पैसाको पनि नास । कोरोना महामारीका कारण समयमै परिक्षाको नतिजा प्रकाशन गर्न नसकिएको भनिए पनि कोरोना त बहाना मात्र हो अरु नै कारणले परिक्षाको नतिजा दिन ढिलाई गरिएको हो भन्ने विद्यार्थीहरुको आरोप रहेको छ । अब भन्नुस् यसको जिम्मेवारी कसले लिने ? सरकारले कि सिटिइभिटीले ?
विद्यार्थीको शैक्षिक भविष्य नै डामाडोल पारिदिने यस्तो खेलमा सरकार लागिरहेको छ कि सिटिइभिटी ? विद्यार्थीहरु एकातिर बन्दाबन्दी र अर्कोतिर स्नातक तह पढ्ने सपना र समय बढि लाग्ने भयो विद्यार्थीहरूले दुःख व्यक्त गर्दै छन् । तर कसले सुन्दिने विद्यार्थीको दुःख र गुनासो ? सरकार र सिटिइभिटीको आशा मर्न लाग्यो तर विद्यार्थीको हक र हितमा काम गर्ने विद्यार्थी संगठनहरुले पनि यस्तो हालत हेरेर किन बसिरहेका छन् ? प्रश्न खडा भएको छ । छन् त विभिन्न पार्टी निकट विद्यार्थी संगठन छन् तर भए पनि के गर्नु कहिल्यै पीडित विद्यार्थीको हितमा काम गरेको देखिएन ।
त्यो आजभोली त यस्तो लाग्न थालिसक्यो, कि ती विद्यार्थी संगठन त पार्टीको काम पर्दाका बेला ढुङ्गामुढा गर्नको लागि बनाइएका रहेछन् कि क्या हो ? विभिन्न शिक्षालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू अहिले बेकार सिटिइभिटी किन पढियो होला भनेर पछुतो मानिरहेका छन् । उनीहरु बेकारमा समय खेर गयो भनेर दुःख र पीडा पोखिरहेका छन् ।
सिटिइभिटीमा पढ्ने विद्यार्थी तपेन्द्र विश्वकर्मा यस्तै दुःखेसो व्यक्त गर्छन् । उनी भन्छन्, ‘परिक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नु पर्ने हो तर २०७७ फागुनमा सम्पन्न परिक्षाको नतिजा ९ महिना बित्दा पनि आएको छैन ।’ सिटीइभिटीका सम्पूर्ण परिक्षाको नतिजा प्रकाशनमा ढिलाइ गर्दा लाखौं विद्यार्थी प्रभावित भएका छन् ।
सिटिइभिटीका लाखौं विद्यार्थीहरु परिक्षाको नतिजा कुरेर बसेका छन् । ‘पढाइ भनेको करियरसँग जोड्नका निम्ति हो, ‘तर सिटिइभिटीले बेलैमा परिक्षाफल ननिकाल्दा लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ । कम्तीमा छ महिनाभित्र परिक्षाफल आएको भए विद्यार्थीको भविष्य राम्रो हुन्थ्यो, ९ महिनासम्म पनि नतिजा प्रकाशन गर्न ढिलो हुँदा विद्यार्थीलाई बाधा पुगेको छ ।
छोराछोरीको भविष्य राम्रो होला भनेर आमाबुवाले लाखौं पैसा खर्च गरेर छोराछोरी लाई प्राविधिक शिक्षालयमा पढाउँछन् तर सिटीइभिटीले नयाँ–नयाँ विद्यार्थी भर्ना मात्र गर्छ । १८ महिनामा पढाइसक्नु पर्ने कोर्सलाई ३६ महिनासम्म लम्ब्याएर विद्यार्थीको भविष्यमाथि ठूलो घात गरिएको छ । यो घात राज्यले नै गरेको भन्दा अनुपयुक्त नहोला । त्यसैले कम्तीमा पनि ६ महिमा भित्र रिजल्ट निकालेमा विद्यार्थीको भविष्य राम्रो हुनेछ ।’ यसै विषयमा एक अर्का विद्यार्थी भन्छन,‘ राजनीति गर्नलाई विद्यार्थी नेता हुने कि विद्यार्थीको समस्या समाधान गर्नलाई ?
सिटिइभिटीमा विभिन्न पार्टीका विद्यार्थी अध्यक्ष्य रहेका छन् तर खै त अहिलेसम्म केही सुनुवाई भएको छैन ! यसैबीच केही विद्यार्थी विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सिटिइभिटीलाई गाली गरिरहेका छन् । आफ्ना गुनासाहरु पोखिरहेका छन् । तर पनि कसैले पनि उनीहरुको गुनासो सुनेको छैन र सुन्नेवाला पनि छैनन् कि जस्तो लागरिहेको छ ।