काठमाडौँ । चर्चित गायक तथा संगीतकार शिशीर योगी ‘यो कस्तो जमाना’ बोलको गीत लिएर आएका छन् । गीतमा आजको समाजको नकारात्मक पक्ष र संवेदनालाई व्यक्त गरिएको छ । नेपाली समाजमा इमान्दार मानिसहरुले कल्पना समेत गर्न नसकिने खालका घटना घटिरहेका हुन्छन् । सभ्य मानिसले देख्न समेत नसक्ने व्यवहार समाजमा भैरहेका कुरालाई लिएर योगीले गाएको सो गीतमा विषयलाई प्रस्तुत गरिएको छ । कतिपय कुराहरु समाजको गतिभन्दा उल्टो हिंडेको देखेर गीतमा भनिएको छ, ‘मेरो आँखा यस्तै हो कि देख्छु सबै उल्टो, बिग्रिएको मतिलाई कसले पार्ने सुल्टो ?’
गरिब र सर्वसाधारण जनताको न्याय हराउने, किसानले लगाएको बालिनाली बारीमै बिलाउने जस्तो अवस्थादेखि विभिन्न समाचारहरुमा आउने गरेका घटनाहरु बाउले छोरीको इज्जत लुटेका घटनादेखि मामाले आफ्नो भान्जाभान्जीलाई अपहरण गरेको कुरालाई गीत मार्फत व्यक्त गरिएको छ । सोझासाझा निमुखा जनताको मालपोतमा अभिलेखिकरण भएको जग्गा मालपोतबाटै हराको मात्रै होइन बैंकमा आफ्नै खातामा भएको पैसा समेत गायब भएको विषयलाई गीतमा देखाइएको छ । जनताको रक्षा गर्नुपर्ने रक्षक नै भक्षक भएको कुरालाई गीतमा यसरी देखाइएको छ, ‘जसले रक्षा गर्नुपर्ने उही हुन्छ भक्षक, सकेजति लुट्ने सबै कोही छैन संरक्षक ।’ यो देशमा चेलीमाथि आफ्नै गुरुले पापकर्म गरेको मात्रै होइन लुटेराकै यो देशमा फुर्ती रहेको बिडम्बनालाई गीतमा व्यक्त गरिएको छ ।
पुरुषोत्तम अधिकारीले शब्द सिर्जना गरेको सो गीतलाई शिशीर योगीले संगीत सिर्जना गरेका छन् भने योगीले सो गीतलाई मार्मिक तरिकाले गाएका छन् । बीबी अनुरागीले गीतको संगीत संयोजन सम्पन्न गरेका छन् भने गोविन्द अनेकले गीत रेकर्ड गरेका हुन् । गीतमा संजीव बराइलीले गिटार, गोपाल घतानीले बाँसुरी र रिदम कुमार महाराजले बजाएका छन् ।
स्थानमा बसेर गीतमा अभिनय गर्दै निर्माण गरिएको गीतको भिडियोमा गायक योगीले स्वयम् मुख्यरुपमा अभिनय गरेका छन् । विरेन्द्र भाट ’बिपिन’ले निर्देशन गरेको सो गीतको भिडियोका दृश्यलाई विपिन आफैले क्यामरामा कैद गरेका छन् । विपिनले नै सम्पादन गरेको सो भिडियो वर्ल्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गरेको छ ।
हेरौं भिडियो ⇓
यस्ता छन् गीतका शब्दहरु :
मेरो आँखा यस्तै हो कि देख्छु सबै उल्टो
बिग्रिएको मतिलाई कसले पार्ने सुल्टो
हराएछ न्याय धर्म, खोज्न कता जाने
कस्तो आयो जमाना यो बारले बालिखाने
दाजु छैन दाजु जस्तो, बाउ छैन बाउ
छोरीको नै इज्जत लुट्ने खोजिराछ दाउ
मामाले नै भान्जाभान्जी अपहरण गर्ने
कस्तो आयो जमाना यो बारले बालिखाने
बैंक खाताको आफ्नो पैसा बैंकमै हराउने
आफ्नो जग्गा मालपोतबाट मालपोतमै हराउने
चेलिमाथि आफ्नै गुरु गर्छ पापकर्म
लुटेराकै फुर्ती देख्छु छैन लाज धर्म
जसले रक्षा गर्नुपर्ने उही हुन्छ भक्षक
सकेजति लुट्ने सबै कोही छैन संरक्षक
स्वास्थ्य गायब जनताको अन्न पानी गायब
निर्धामाथी राज गर्ने धेरै निक्ले सायब
कस्तो आयो जमाना यो बारले बालिखाने
बारले बालिखाने जमाना कस्तो जमाना ?