काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेन्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।
सम्मेलनको उद्घाटनसत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे गम्भीर विश्लेषण गरे ।
बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसको राजनीतिक रूपरेखासमेत प्रस्तुत गरे ।
सम्मेलनमा श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण कार्यक्रमका कडा सर्त र अनुशासनको सामना गर्दै जनपक्षीय विकासको वैकल्पिक मार्ग कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।
विश्वप्रसिद्ध मार्क्सवादी लेखक, इतिहासकार तथा ‘ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च’का संयोजक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई एउटै साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको विस्तृत चित्र प्रस्तुत गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुनेछ । सम्मेलनका क्रममा श्रीलंकामा रहेका प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसैक्रममा सम्मेलनको साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी शीर्ष वामपन्थी नेताहरूसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् ।
सम्मेलनको दोस्रोसत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेसनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गरेको आयोजकले जनाएको छ ।