• असार १० २०८३, बुधबार

भद्रगोल देखेपछि महाधिवेशन नसकिँदै घर फर्कन थाले रास्वपा कार्यकर्ता

असार १० २०८३, बुधबार

काठमाडौँ । चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनको व्यवस्थापकीय पक्ष भद्रगोल देखिएको छ ।

महाधिवेशन प्रतिनिधिहरू अस्तव्यस्त बनेका छन् भने पदाधिकारीका आकाङ्क्षीहरू समेत निराश देखिएका छन् ।

महाधिवेशन भद्रगोल बनेसँगै नयाँ नेतृत्व चयनका लागि चितवन पुगेका महाधिवेशन प्रतिनिधिहरू दिक्क मान्दै घर फर्कन थालेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समेत महाधिवेशन नसकिँदै काठमाडौँ फर्केका छन् । प्रधानमन्त्री शाह बुधबार दिउँसो काठमाडौँ फर्केका छन्।

उद्घाटन सत्र सकिएपछि नियमित कार्यसूची अनुसार महाधिवेशनका अन्य प्रक्रिया अघि नबढ्दा महाधिवेशन भद्रगोलमा परिणत भएको हो।

यसैबिच बुधबार दिउँसो सम्म पनि निर्वाचन प्रक्रिया सुरु नभएपछि केही महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन आयोगका पदाधिकारीसँग जवाफ माग्दै होहल्ला र लफडा गरेका छन् ।
उद्घाटनको दोस्रो दिन सुरु हुनुपर्ने बन्दसत्र तेस्रो दिन सुरु हुनु त्यो पनि प्रतिवेदनहरूमाथि छलफल नै नगरी पास गर्नु, निर्वाचन प्रक्रिया चौथो दिन बित्न लाग्दा पनि सुरु नहुनुजस्ता कारणले प्रतिनिधिहरू दिक्दार मान्दै घर फर्कन लागेका हुन् ।

महाधिवेशनमा सहभागी हुन झण्डै ४२ सय प्रतिनिधिहरू चितवन पुगेका थिए । सभापति सहित १ सय केन्द्रीय सदस्यको निर्वाचन गर्ने गरी सुरु भएको महाधिवेशनमा सभापति पदमा रवि लामिछाने निर्विरोध भैसकेका छन् । तर,बाँकी ९९ जना केन्द्रीय सदस्यको निर्वाचन बुधबार यो समाचार तयार पार्दासम्म सुरु भएको छैन ।

विद्युतीय मेसिनमार्फत मतदान गर्ने तयारी अनुसार महाधिवेशनस्थलमा ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ तर बुधबार साढे तीन बजेसम्म पनि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन सकेको छैन ।

रास्वपाका नेताहरू कविन्द्र बुर्लाकोटी र नेता गणेश पराजुलीले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै व्यवस्थापकीय कमजोरीका कारण महाधिवेशनमा विलम्ब भएको स्वीकार गरेका छन् । यद्यपि यसबाट सिकेर आगामी दिनमा यस्तो कमजोरी हुन नदिने बताएका छन् ।

रास्वपा प्रतिनिधि घर फर्किन थालेपछि कसरी निर्वाचन गर्नुहुन्छ भनेर सञ्चारकर्मीले गरेको प्रश्नमा नेता पराजुलीले यसबारे आफूलाई थाहा नभएको भन्दै अनविज्ञता प्रकट गरे ।