काठमाडौं । भारतको भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने नेपाल फर्किएका छन् ।
पाँच दिन लामो भ्रमण गरेका सभापति लामिछाने शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।
भारतीय जनता पार्टीको निमन्त्रणमा भारत गएका सभापति लामिछानेले यो भ्रमणबाट नेपाल–भारत सम्बन्धमा ‘रिसेट’ भएको बताएका छन् ।
नयाँ सरकार बनेपछि भएको यो भ्रमणबाट आफूले कुन कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढाएको जानकारी गराए ।
‘नयाँ सरकार बनिसकेपछि मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुरामा, सहकार्यका कुरामा, हाम्रो वर्षौदेखि रहेको सद्भावपूर्ण सम्बन्धका आधारमा राष्ट्रका रुपमा कुन लाभलाई लिन सक्छौं,’ भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढेको छ । एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणमा भएका विषय भएकाले हामी एउटा चरणमा प्रवेश गरेका छौं ।’
उनले आफ्नो भ्रमणमा कुनै अस्पष्ट र लुकिछिपी नभएको पनि बताए ।
‘अस्पष्ट, लुकिछिपी, अपारदर्शी सम्बन्ध होइन, पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिंड्न सुरु गरिएको विषय भएकाले, यो एक हिसाबले रिसेट जस्तो पनि हो,’ उनले भने, ‘रिसेट गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने आशा गरेको छु ।’
सीमा विवादबारे के भने ?
उनले सीमा विवादबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिए । कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने उनले बताएका छन् ।
पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका सभापति लामिछानेले कूटनीतिक विषयहरू ढोल बजाएजस्तो नहुने बताए ।
विमानस्थलमा लामिछानेलाई सीमा विवादबारे प्रश्न गरिएको थियो । उनले त्यसलाई कूटनीतिक माध्यमबाट सहज र समाधान गर्नेगरी अघि बढ्ने बताए ।
‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’ उनले भने, ‘ढोल नबजाइ आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।’
कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि उनले आग्रह गरे ।
‘कूटनीतिको विषय देशको सबैभन्दा धेरै जनाले पतयाएको राजनीतिक दलका रुपमा त्यसले उठाउने विषय त्यसका जिम्मेवारी र संवेदनशीलता बुझ्न सकिएन भने कूटनीतिमा त्यसको धेरै महत्व हुँदैन,’ उनले भने ।