• जेष्ठ ११ २०८३, सोमबार

गणतन्त्र दिवस समाराेहलाई प्रम बालेन साहले सम्बाेधन नगर्ने

जेष्ठ ११ २०८३, सोमबार

काठमाडाैं । प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र साहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने  भएका छन् ।

यहि जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री साहले सम्बोधन गर्ने परम्परा रहेकामा यस पटक साहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्ने भएका छन् । गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ । मन्त्रिपरिषद्ले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री साहकै नेतृत्वमा बनाएको छ ।

यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री साहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेश गरेका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरे र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिए ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन् । सभामुख डाेल प्रसाद अर्यालले मिति माग्दा प्रधानमन्त्री शाहले ’उपयुक्त समयमा उपस्थित भएर जवाफ दिने’ बताएका छन् ।

निर्वाचित भएदेखि नै प्रधानमन्त्री साहले देशवासीका नाममा सम्बोधन गरेका छैनन् र प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा पनि उनी कतै हालसम्म औपचारिक रूपमा बोलेका छैनन् ।