काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि प्रकट गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता समेत रहेका साम्पाङले सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिका लागि सिफारिस गरेको बताएका हुन् ।
अध्यक्ष साम्पाङले संसद्लाई छलेर र राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरिनु आफैमा गलत कदम भएको उल्लेख गरेका छन् । उनले वरियताको क्रममा चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने सरकारको निर्णयलाई ठुलो गल्तीको संज्ञा दिँदै यस्तो गलत कार्यलाई कदापि सही भन्न नसकिने स्पष्ट पारेका छन् ।
विशेषगरी आफ्नै पार्टीबाट उपसभामुख बनेकी व्यक्तिको भूमिकाप्रति साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन् । ‘नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसङ्ग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरियताको क्रमलाई उल्लङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष साम्पाङले यो नियुक्ति प्रक्रियामा राजनीतिक तथा कानुनी स्वार्थ लुकेको आशङ्का समेत गरे। सहकारी ठगी प्रकरण र भदौ २३–२४ को ‘जेनजी’ आन्दोलन जस्ता गम्भीर विषयहरूमा आफ्नो पक्षमा निर्णय गराउन सरकारले यस्तो कदम चालेको हुनसक्ने उनको दाबी छ।