काठमाडौँ l नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा सम्पन्न निर्वाचनमाथि आशङ्का व्यक्त गरेका छन् । निर्वाचन सम्पन्न भएको दुई महिना पुग्नै लाग्दा उनले कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत गणनामा नदेखिएको भन्दै प्रश्न उठाएका छन् ।
बिहीबार रुकुम पश्चिम पुगेका प्रचण्डले त्यहाँका पत्रकारहरूसँग भने—हामीले सम्पन्न निर्वाचनको निकै गम्भीर ढंगले समीक्षा गरेका छौँ । हाम्रो निष्कर्षमा यो निर्वाचन सामान्य र स्वाभाविक रहेन, बरु केही हदसम्म असामान्य र अस्वाभाविक देखियो ।’
निर्वाचन परिणामका सन्दर्भमा विभिन्न स्थानबाट प्राप्त रिपोर्टहरू सहज र स्वाभाविक नदेखिएको उनले बताए ।
कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत गणनामा नदेखिएको, कतै जित्ने अपेक्षा नै नगरिएका ठाउँमा अप्रत्याशित मत प्राप्त भएको र कतै सुरक्षित मानिएको मत परिणामको अन्तिम समयमा आएर एकाएक हराएको जस्ता उजुरी र रिपोर्टहरू प्राप्त भएको प्रचण्डले बताए ।
‘यी सबै पक्षलाई दृष्टिगत गर्दा, यो निर्वाचन सामान्य थिएन भन्ने हाम्रो ठहर छ,’ उनले अगाडि थपे, ‘त्यसैले, यसको थप अध्ययन र गम्भीर अनुसन्धान गर्नुपर्ने निष्कर्षमा हामी पुगेका छौँ ।’
तथापि निर्वाचन मार्फत प्रकट भएको जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सफलतालाई सहज रूपमा स्वीकार गरेको पनि उनले बताए ।
‘आगामी दिनमा सरकारले गर्ने राम्रा कामहरूमा हाम्रो सहयोग र समर्थन रहनेछ,’ उनले थपे, ‘तर, सरकारका कमजोरीहरूमा भने हाम्रो सशक्त आलोचना रहनेछ । हामीले सदनमा एक रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेका छौँ ।’