काठमाडौं । ‘काठमाडौं उपत्यका मेयर्स फोरम’ले संघीय सरकारको निर्णय अस्वीकार गर्दै नयाँ शैक्षिक सत्र २०८३ का लागि आफ्नै तालिका सार्वजनिक गरेको छ । फोरमले उपत्यकाका विद्यालयहरूमा वैशाख ११ गतेदेखि भर्ना अभियान र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको फोरमको बैठकले संघीय सरकारले तोकेको तालिकाले विद्यालय सञ्चालनमा अन्योल सिर्जना गरेको र शैक्षिक गतिविधिमा असर परेको निष्कर्ष निकाल्दै वैकल्पिक निर्णय गरेको जनाएको छ ।
यसअघि संघीय मन्त्रिपरिषद्ले वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । तर, मेयर्स फोरमले स्थानीय तहको अधिकार क्षेत्र र शैक्षिक आवश्यकता अनुसार फरक तालिका लागु गर्ने निर्णय गरेको हो ।
साथै, फोरमले मुलुकमा देखिएको इन्धन संकटलाई ध्यानमा राख्दै विद्यालयहरूलाई विद्युतीय सवारीसाधन प्रयोगमा प्राथमिकता दिन आग्रह गरेको छ । साथै, इन्धन अभावका कारण पठनपाठन अवरुद्ध हुन नदिन अनलाइन कक्षा लगायत वैकल्पिक शिक्षण विधि तयार राख्न पनि अनुरोध गरिएको छ ।