विश्वको अतिमहाशक्ति राष्ट्र अमेरिकामा रिपब्लिकन पार्टीका नेता डोनल्ड ट्रम्प शक्तिशाली राष्ट्रपतिका रूपमा सत्तासिन भएपछि सबैको मनमा परेको थियो, अब तेस्रो विश्वयुद्ध हुन्छ । र, त्यसकोे नेतृत्व अमेरिकाले गर्छ । तर यो आँकलनलाई सहजै किनारा लगाइदिए उ नै ट्रम्पले । अप्रत्याशित रूपमा उनले उल्टै तेस्रो विश्वयुद्ध रोक्ने उद्घोष गरे ।
रूस–युक्रेन युद्धमा निवर्तमान राष्ट्रपति जो बाइडनले ‘वि आर विथ युक्रेन’ अर्थात् ‘हामी युक्रेनको साथमा छौं’ भनी विश्वभर रहेका अमेरिकी दूतावासमा फहराउन लगाएका ब्यानर हटाउन लगाई युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई रूससँग शान्ति वार्ताका लागि दबाब दिए । सैन्य सहयोग बन्द गरिदिए । यति मात्र होइन, उनले ह्वाइट हाउसमा आयोजित गोप्य वार्तामा जेलेन्स्कीलाई ‘तेस्रो विश्व युद्धको जुवा नखेल्न’ सशक्त चेतावनी दिए । यसरी गोप्य भिडियो तत्कालै सार्वजनिक गरिएको पहिलो घटना हुनुपर्छ यो अमेरिकी इतिहासमा ।
कुरा यतिमा मात्र सिमित रहेन । पूर्ववर्ती राष्ट्रपति बाइडनले रूस–युक्रेन युद्धमा रूसविरूद्ध लड्न अमेरिकाले युक्रेनलाई गरेको हातहतियार र आर्थिक सहयोगको एकमुष्ठ मूल्य फिर्ता गर्नु पर्ने भनी युक्रेनी राष्ट्रपतिलाई बारम्बार सम्झाए पनि ट्रम्पले ! यसको नीतिगत पृष्ठभूमि औल्याउँदै ट्रम्पले ‘अब अमेरिकाले अरूका लागि युद्ध नलडिदिने’ आशय प्रष्ट पारे ।
यो सन्दर्भले विश्व आणविक युद्ध केही समयका लागि ओझेल परेको महसुस गरायो पनि । तर यथार्थमा युद्ध नगरी अस्तित्व धान्न नसक्ने अमेरिकाले ‘ट्यारिफ वार’ अर्थात् ‘व्यापार करयुद्ध’ सुरू गर्यो । आणविक युद्धको तुलनामा करयुद्धले कम भौतिक क्षति गराउने भए पनि मानवीय हिसावले व्यापार युद्ध कम खतरनाक छैन । भलै, आगो ओकल्ने आणविक युद्धभन्दा रूपमा व्यापार युद्धले केही शान्तिपूर्ण बाटो लिएको अनुभूत भने सर्वसाधरणमा हुने गर्दछ ।
राजनीतिक विश्लेषक भन्छन्– व्यापार करयुद्ध आणविक युद्धको शान्तिपूर्ण कार्यान्वयन मात्र हो, देखिँदा आणविक युद्ध रक्तपातपूर्ण हुन्छ भने व्यापार करयुद्ध रक्तपातविहीन । तर सारमा यी दुबैले जनताको हुर्मत लिने काम नै गर्छन् । तथापि रूस–युक्रेन युद्धको परिवेशमा संभावित आणविक युद्ध पर धकेल्नु र व्यापार करयुद्ध अघि बढाउनु केही नयाँ सोचको उपज भने पक्कै हो । अमेरिकी शक्ति सञ्चयका लागि ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ट्रम्पको नीतिले यसमा ठूलै काम गरेको छ ।
यति नै बेला हामीले इतिहासको एक महत्वपूर्ण क्षणको स्मरण गर्नु जरूरी छ । त्यो हो, तात्कालिन अमरिकी राष्ट्रपति रिचर्ड निक्सनको माओकालिन चीन भ्रमणका बेलामा अमेरिका–चीन कुटनीतिक सम्बन्ध जोड्ने ‘सेतु’को काम गरेका हेनरी किसिन्जरको भनाइ । चिनियाँ राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा पछिल्लो समयमा चीन पुगेका बयोबृद्ध ‘सेतु’ किसिन्जरले भनेका थिए, यदि ‘अमेरिका र चीनले बुद्धि पुर्याए र आपसमा युद्धको घोषणा गरेनन् भने तेस्रो विश्वयुद्ध रोक्न संभव छ । यो नै तेस्रो विश्वयुद्ध रोक्ने एक मात्र उपाय पनि हो ।’
सायद ट्रम्पको विजयसँगै अहिलेको अमेरिकी विश्व कुटनीति यसरी परिवर्तन नभएको भए विश्व यति बेला ‘नेटो’ र ‘गैरनेटो’ गरी दुई दुश्मन ध्रुवमा भिक्त भई विश्वयुद्धको चपेटामा परिसकेको हुने थियो । त्यही अर्थमा ट्रम्पले आणविक युद्ध नगरेर व्यापार करयुद्धलाई निकै चलाकीका साथ अघि बढाएका छन् । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ट्रम्पको नाराभित्र शान्तिपूर्ण युद्धको कभरमा शक्ति सञ्चयको कुटनीतिक तयारीको आशय आफैमा छर्लङ्ग देखिन्छ । उता अमेरिकाले देखेको र मानेको उसको प्रमुख प्रतिद्वन्द्वी चीन आणविक युद्ध नलडेर विश्व अतिमहाशक्ति बन्ने सपना देखिरहेको छ । शक्ति सञ्चयको दुबैको आशय प्रष्ट देखिन्छ ।
ट्रम्पले व्यापार युद्ध नै सापेक्ष उत्तम युद्धका रूपमा चयन गर्नुका पछाडि केही बाध्यात्मक तथ्यहरूले काम गरिरहेका छन् । पहिलो कुरो त चीनले विज्ञान तथा प्रविधिमा अद्वितीय उचाइ हासिल गर्दै गइरहेको छ । जमिन होस् वा आकाश, पछिल्ला दिनहरूमा, अमेरिकाको तुलनामा चीनले अग्रता हासिल गरिरहेको देखिन्छ । अमेरिकाले यसको आभाष नपाउने कुरा नै भएन । तर यी कुरा अझै पनि गोप्य नै राखिएका छन् । बाहिर देखाउँदा चीनले विश्वभर व्यापार बिस्तारको बाटोलाई ‘अभेद्य अस्त्र’का रूपमा अघि बढाइरहेको छ । भित्र हेर्दा सारमा अविजित चीन र बाहिर हेर्दा रूपमा व्यापारी चीनसँग लड्न पनि अमेरिकाको लागि निकै चुनौतिपूर्ण छ ।
अध्ययन, अनुसन्धान र आविष्कारका आन्तरिक तयारीलाई भित्री तयारीका रूपमा अघि बढाउँदै सायद ट्रम्पले विश्वकै इतिहासमा अभेद्य बनिरहेको यही चिनियाँ व्यापार अस्त्रलाई निस्तेज पार्न व्यापार कर युद्ध नै पहिलो रोजाइमा पारेका हुन सक्छन् । यही व्यापार करयुद्धमार्फत् आर्थिक तथा कुटनीतिक युद्ध लड्दै पक्षधरताका आधारमा विश्व ध्रुवीकरणका लागि अमेरिकाले कदम चालेको सहजै देख्न सकिन्छ पनि । हालको विश्व परिवेशमा विश्व शक्ति सन्तुलनमा अजङ्गका हेरफेर ल्याउन अमेरिकालगायत अतिशक्ति र अतिमहाशक्ति राष्ट्रहरू कम्मर कसेर लागिपरिरहेका छन् । यी चाल मूलतः अमेरिकाको ‘मिलेनियम च्यालेन्ज’ र चीनको ‘बीआरआई’मा आमनेसामने टक्कराउने गरी विश्वभर देखा परिरहेका छन् ।
संयोगको कुरा के हुन गएको छ भने अमेरिकाको एक सय वर्षको रणनीतिक ‘मिलेनियम च्यालेञ्ज’ मा मुख्य गरी चीन नै निशाना परिरहेको छ भने रसिया यति नै बेला अमेरिकासरह आणविक सन्तुलनमा पुगिसकेको छ । यसले अमेरिकालाई रक्षात्मक अवस्थामा धकेलिदिएको छ । परिणामतः एशिया (चीन, रूस, भारतसहित) उदाउँदो अवस्थामा रहेको छ भने अमेरिका रक्षात्मक अवस्थामा पुगिसकेको छ । उता अमेरिकाको उदयसँगै सदैव उसको सहयोगी रहँदै आएको युरोप ‘बूढो’ र ‘अशक्त’ बन्दै गइरहेको छ ।
यस्तो अवस्थामा अमेरिका उदाउँदो एशियासँग जोखिम मोल्ने भन्दा पनि केही समय आफू अमेरिका एशियाली राष्ट्रसँग मिले झैं गरेर अनि एशियाली उदाउँदा राष्ट्रहरूलाई मिल्न नदिएर वा फुटाएर आफ्नो शक्ति सञ्चय गर्ने ध्याउन्नमा छ । रसियासँग मौनस्वीकृतिको नीति लिएर चीनसँग टक्कराउने गरी व्यापार युद्धमा अमेरिका होमिनुको कारण पनि यही हो । युरोपसँगको ‘नेटो’ गठजोड परित्याग गरेको नदेखाउँदासम्म रसियाले सहकार्य गर्ने वातावरण नबन्ने भएकाले अमेरिका नेटो राष्ट्रहरूसँगको सम्बन्धमा केही शिथिलता आउन दिन तयार देखिन्छ । परिणामतः अमेरिका युक्रेनलाई सहयोग गर्न अनिच्छुक देखिँदै आएको छ ।
केही समय पहिलेसम्म पारमाण्विक सम्पन्नता सर्वोच्च मानिन्थ्यो । अहिले आणविक अस्त्र पनि किनबेच गरेर प्रयोगमा आउने अवस्था सिर्जना भइसकेकाले व्यापार र व्यापार प्रवृत्ति विश्वको मुख्य प्रवृत्ति बनेर छाइसकेको छ । अर्को कुरा, आर्थिक सम्पन्नता विना कुनै काम संभव छैन । त्यो सम्पन्नता व्यापारबाट मात्र सम्भव छ । यसले पनि व्यापार युद्ध विश्वको मूल प्रवृत्ति बनेर देखा परिसकेको छ । विश्व अहिले मूलतः ‘पुँजीवादी’ र त्यो पनि संसार भरि छाएर ‘पुँजीवादी–साम्राज्यवादी’ चरणमा छ । समाजवादी परिवर्तनका लहर कहिँकतै पनि देखिदैन ।
पुँजीवादभन्दा फरक विचारमा आधारित समाजवादी राष्ट्र पनि छैनन् । यो अवस्थामा विश्वमा पुँजीवादी देशहरू नै एकअर्काका विरूद्धमा छन् । त्यसैले अन्तर साम्राज्यवादी अन्तरविरोध विश्वमा व्याप्त छ । विश्वमा कहिँकतै समाजवाद नै नरहेको अवस्थामा हालको अमरिकाले पुँजीवादी देशहरूको फौजी संगठन नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन ‘नेटो’ को औचित्यता समाप्त भइसकेको महसुस गरेको देखिन्छ । यो अवस्थाले पनि व्यापार युद्धलाई अनिवार्य बनाउँदै लगिरहेको छ ।