काठमाडौं । आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकायलाई आह्वान गरेको छ ।
सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन् ।
औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो ।
औलोको पहिचान गर्न रगतको नमुनालाई सूक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवीहरु सर्ने गर्दछन् । मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषहरुमा विकास भई हुर्किएका परजीवीहरु रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्दछन् ।
औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण देखिने हुन्छ ।
यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्युसमेत हुने सम्भावना हुन्छ । नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन् । विशेष गरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन् ।
यसको रोकथामका लागि ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको संक्रमण देखा परे तत्काल उपचार गर्ने गरिएको छ ।
औषधि निस्प्रभावी बन्दै जानु औलो रोग नियन्त्रणमा समस्याको विषय हो । यद्यपि, कुन औषधिले काम गर्छ, कुनले गर्दैन भनेर नेपालमा बेलाबेला औषधिमाथि अनुसन्धान भइरहेको छ । विशेषज्ञहरुको अनुसन्धानका आधारमा औषधिका रेजिमहरु परिवर्तन भएका छन्, जसले गर्दा अहिले त्यस्तो समस्या खासै देखिएको भने छैन । लामखुट्टेको टोकाइको माध्यमबाट मात्र सर्न सक्ने यो रोगबाट बच्नको लागि सामान्यरुपमा लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने, उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिमयुक्त ठाउँहरुको भ्रमणमा जानुअगाडि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ । घर–घर, समुदायहरुमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरु र बच्ने उपायहरुको बारेमा चेतना फैलाउने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने तथा बिरामीहरुले तुरुन्त उपचार गर्ने आदि गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो भन्ने कुरा मनन गर्नुपर्छ । औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।