• बैशाख ५ २०८२, शुक्रबार

समाचार कक्षलाई समावेशी बनाउनुपर्छ : अध्यक्ष लम्साल

चैत्र २८ २०८१, शुक्रबार

चैत २९, काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताएका छन् । शुक्रबार फोनिजको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले पत्रकारिता क्षेत्र समावेशिता र सहभागिताको मूल आधार बन्नुपर्ने बताएका हुन् । समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक सञ्चार प्रणाली सुदृढ नहुने उनको भनाइ थियो ।

अध्यक्ष लम्सालले मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्ने बताएका हुन् । ‘राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ,’ उनले भने ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्ने बताउँदै अध्यक्ष लम्सालले मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताए ।

‘राजाको शासन टिकेन, सत्ताहरू टिकेनन, जब पत्रकारको आवाज दबाउन खोजियो । त्यसैले आज पनि पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य हुँदैनन,’ उनले भने ।