काठमाडौँ । उपत्यकामा वायु प्रदुषण बढेको अहिले मात्रै होइन । पहिलादेखि नै वायु प्रदुषण हुने गरेको थियो । तर, विगतको तुलनामा वायु प्रदुषणको मात्रा भने झनै बढेर गएको छ । हामीले फेर्ने श्वासमा विषालु हावा बढिरहेको छ । पहिला थोरै मात्रामा विषालु हावा बहन्थ्यो भने अहिले त्यो विषालु हावाको मात्रा बढेको छ । विषालु हावामा श्वास फेर्दा हाम्रो औषत आयु पनि प्रत्येक समय घटिरहेको छ ।
दुई दशकको अवधिलाई हेर्दा हामीले श्वास फेर्ने हावामा प्रदुषणको स्तर ६३ प्रतिशत बढी छ । अर्थात् झण्डै दुई तिहाइले बढेको छ । यो दर अझै बढ्ने देखिन्छ । विगतको तथ्यांक र अहिलेको तथ्यांक केलाउँदा के भन्न सकिन्छ भने वायु प्रदुषणको मात्रा दुई तिहाइले बढेको छ । तथ्यांक हेर्दा सन् १९९८ मा देशको हावामा पीएम २.५ भनिने आँखाले देख्न नसकिने धूलो कण वार्षिक सरदरमा २६.२७ माइक्रोग्राम प्रतिघनमिटर हुने गरेकोमा अहिले ४२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ ।
उपत्यकामा बढ्दो सवारी चाप, निर्माणमा भएका काम र इट्टा उद्योगबाट निस्कने धुवाँसँगै बाहिरबाट आउने प्रदुषित हावाले श्वास फेर्ने हावामा प्रदुषणको मात्रा बढिरहेको छ । गत एक साताअघिदेखि भने काठमाडौँ प्रदुषणले गर्दा उकुसमुकुस भइरहेछ । प्रदुषणका कारण मौसम धुम्म बन्दा आम सर्वसाधरणको स्वास्थ्यसमेत जोखिममा परेको छ । तर, सरकार भने प्रदुषण नियन्त्रणमा बे वास्ता गरिरहेको छ ।
पछिल्लो समय प्रदुषणको मात्रा यतिसम्म बढेको छ कि नेपालीहरुले सफा हावामा श्वास फेर्ने समयसमेत गन्न पर्ने अबस्थामा पुगेको छ । जसले गर्दा नेपालीको औसत आयु ४ वर्षले घटिरहेको छ । प्रदुषणकै कारण गत चैत १८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कतिपय हवाइ उडान नै प्रभावित बन्न पुग्यो । हरेक वर्ष हिउँद लाग्दा नलाग्दै वायु प्रदुषण बढ्दा आम नागरिकको स्वास्थ्य जोखिममा परिरहेको छ ।
गत सातादेखि काठमाडौँ उपत्यका संसारकै प्रदुषण हुने पहिलो शहर बनिरहेको छ । यो क्रमले एक सातादेखि निरन्तरता पाइरहेको छ । चैत २६ गतेको विहान काठमाडौँको वायु गुणस्तर सूचकांक २२५ माथि छ । यसअघि चैत २१ मा विहान काठमाडौँको वायु गुणस्तर सूचकांक ३४८ माथिसम्म पुगेको थियो ।
हावाको गुणस्तर सूचकांक ५० सम्म हुनुलाई राम्रो मानिन्छ, १०० सम्मलाई मध्यमस्तरको मानिन्छ। यसभन्दा माथि सूचकांक पुग्नु नराम्रो हो । सूचकांक २०१ बाट माथि लाग्नु त जटिल अबस्थामा पुग्नु हो । अझै ३ सय माथि पुग्नु भनेको स्वास्थ्य संकटको अबस्थामा आउनु हो ।
काठमाडौंको हावामा पीएम २.५ भनिने आँखाले नदेखिने धूलोको कणको मात्रा सरदरमा १५० माइक्रोग्राम प्रतिघनमिटर हाराहारी छ, जुन विश्व स्वास्थ्य संगठनद्वारा निर्धारण गरिएको सुरक्षित सीमाभन्दा १० गुणा धेरै हो । संगठनका अनुसार २४ घण्टामा पीएम २.५ को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुनु जोखिमयुक्त हो । आँखाले नदेखिने यस्ता सूक्ष्म धूलोका कणहरू श्वासप्रश्वास प्रक्रियाद्वारा फोक्सोभित्र पसेर रगतमा मिसिन सक्ने र यसले दीर्घकालीन रूपमा श्वासप्रश्वास समस्या, मुटुरोग, हृदयाघात, फोक्सोको क्यान्सर सहितका रोग निम्त्याएर आयु घटाउने संगठनले बताउने गरेको छ ।
नेपाल सरकारले पनि स्वस्थ हावाको मापदण्ड तय गरेको छ, जस अनुसार २४ घण्टामा हावामा सरदर पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरसम्मको हावालाई स्वस्थ मानिएको छ । यो मापदण्डका आधारमा हेर्दा सन् २०२४ मा खुमलटारमा ४१ दिन मात्र स्वस्थ हावा देखिन्छ, बाँकी दिनको हावा अस्वस्थ रहेको देखिन्छ ।
हावा दुषित पार्ने स्रोत के–के हुन् ?
काठमाडौं र देशभरि श्वास फेर्ने हावालाई प्रदुषित बनाउनेमा सवारीसाधन, इँटाभट्टा र कलकारखानाले निकाल्ने धूवाँ, खेतबारीमा काम नलाग्ने ठुटाठाटी तथा फोहोर जलाउँदा निस्कने धूवाँ तथा सीमापारिबाट प्रदूषण बोकेर आउने हावाले वर्षैभरि वायुलाई प्रदूषित पारिरहेका हुन्छन् । त्यस्तै हिउँद लागेपछि हावालाई प्रदुषित बनाउने अर्को स्रोत हो डढेलोबाट निस्कने धुँवा । नेपालमा फागुन लागेसँगै सुख्खा मौसम शुरु भएपछि वनमा डढेलो लाग्न शुरु हुन्छ । जुन डढेलो बैशाखसम्म लाग्ने गर्छ । नेपालभर लाग्ने वन डढेलोले वातावरण प्रदुषित बनाउने गरेको छ ।
कहिले घट्ला त वायु प्रदुषण ?
वातावरण विभागका अनुसार काठमाडौं उपत्यकासहित देशको विभिन्न ठाउँमा वायु प्रदुषण तत्काल घट्ने सम्भावना देखिदैन । वायु प्रदुषण हट्नका लागि ठूलो हावा चल्नु पर्ने र पानी पर्नुपर्छ । वातावरण विभागमा पूर्वानुमानका निम्ति भरपर्दो प्रणाली नभएकाले वायु प्रदूषण घट्ने वा बढ्ने यकिन गर्न सकिने अबस्था छैन,यद्यपी पानी परेमा भने केही राहत भने मिल्ने वातावरणविद् रामबाबु शर्मा बताउँछन् ।
काठमाडौंमा बुधबार बिहान साढे ६ बजे पीएम २.५ को मात्रा केही घट्ने देखिए पनि दिउँसो र राति पुनः बढ्ने सम्भावना छ । बुधबार मध्यरातबाट बिहीबार बिहान ६ बजेसम्म यो मात्रा केही घटे पनि त्यस दिनभर उच्च रहने सम्भावना छ । सोही साँझबाट भने घट्दै जाने देखिएको छ ।