• चैत्र २५ २०८१, मंगलवार

रूसविरूद्ध किन आक्रामक बन्दैछ फ्रान्स ?

चैत्र २४ २०८१, सोमबार

युक्रेन युद्धको निरन्तरतासँगै पछिल्ला दिनमा रूस र फ्रान्स एकअर्कामा बढी आक्रामक देखा पर्दै गइरहेका छन् । फ्रान्सले रूसविरूद्धमा नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन (नेटो)को अगुवाइ गर्ने आकाङ्क्षा बोकेको देखिन्छ । फ्रान्स रूसविरूद्ध युक्रेनको सहयोगमा निकै सक्रिय पनि रहँदै आएको छ ।

अमेरिकाले नेटो अघोषित रूपमा परित्याग गरेसँगै फ्रान्समा नेटोको अगुवाइ गर्ने अभिलाषा पलाएको आभाष पनि नेटो राष्ट्रहरूले गरिरहेका छन् । केही विश्लेषक भन्छन् पनि ‘अमेरिकाले नेटोको अगुवाइ गर्न छाडेपछि फ्रान्स अघि सर्नु स्वभाविकै हो ।’

तर कुरा यत्तिमा मात्र सिमित छैन । फ्रान्स रूससँग लडाइँ गर्ने मनस्थितिमा छ । यसका पछाडि विश्वमा र विशेषतः अफ्रिकामा विकसित नयाँ राजनीतिक परिस्थितिले काम गरिरहेको छ । त्यो नयाँ राजनीतिक परिस्थिति अफ्रिकामा रूसको उपस्थितिसँगै सिर्जना भइरहेको छ ।

अफ्रिका महादेशमा रहेका पश्चिम–उत्तरी क्षेत्रका नाइजर, चाड, सेनेगल, माली, सेन्ट्रल अफ्रिका लगायतका १४ राष्ट्रहरू आजका दिनसम्म पनि (विगत ६० वर्षदेखि) फ्रान्सको उपनिवेशमा छन् । मात्र ७ राष्ट्रहरू अहिले फ्रान्सेली उपनिवेशबाट मुक्त भएका छन् । यी देशमा त्यहाँका जनताले फ्रान्सेली कठपुतली सरकारविरूद्ध विद्रोह गरेर आफ्नो सरकार गठन गरिरहेका छन् ।

यी विद्रोह र सरकार निर्माणमा रूसको प्रत्यक्ष सहयोग रहेको छ । बाँकी ७ राष्ट्रहरू पनि यसरी नै फ्रान्सेली कठपुतली सरकार विरूद्ध आफ्नो सरकार निर्माणमा विद्रोको क्रममा छन् । यसले गर्दा फ्रान्समा यी देशहरूबाट सुरक्षा कर वापत् प्राप्त हुने ५०० अर्ब डलर गुम्दै गइरहेको छ । यो चानचुने कुरा होइन ।

इतिहास हेर्दा ब्रिटिश र त्यसलगत्तै फ्रान्सेली उपनिवेश भोगिरहेका यी अफ्रिकी देशमा सन् १९६० मा यी १४ देश नै स्वतन्त्र भएको नाटकीय घोषणा गरी यी देशका आर्थिक, सुरक्षा र साधनस्रोत तथा सीमा रक्षाका विषयमा फ्रान्सको अगुवाइ रहने गरी सम्झौता गरिएको थियो ।

यी देशलाई ‘फ्रेञ्च कम्युनिटी’ अन्तर्गत समावेश गरी फ्रान्सेली मुद्रा चलाउने गरी क्यामरूनमा ‘सेन्ट्रल अफ्रिकी स्टेट वैंक’ स्थापना गरियो । हालसम्म पनि यी देशले क्यामरूनस्थित ‘सेन्ट्रल अफ्रिकी स्टेट वैंक’बाट आर्थिक कारोवार चलाउँदै आएका छन् । तर रूसको अफ्रिका प्रवेशसँगै यो प्रक्रियामा ठूलो भूकम्प आएको छ । फ्रान्सले आफ्नो औपनिवेशिक प्रभुत्व गुमाउँदै गएको छ ।

फ्रान्सले रूससँग यसको बदला युक्रेन युद्धमा नेटोको अगुवाइ गरेर लिन चाहन्छ । यही कारणले पनि रूस–फ्रान्स आमने सामने हुँदै गएका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्राें रूसविरूद्ध आक्रामक बन्दै जानुको मुख्य कारण यो पनि रहेको छ । अमेरिकाले नेटोको अगुवाइ गर्न अनिच्छा जाहेर गरेपछि नेटोको अगुवाइ गर्ने नेतृत्वको खाँचो पनि नेटोभित्र परिरहेको देखिन्छ ।

उता अफ्रिकामा एकपछि अर्को गरी अन्त्य हुँदै गइरहेको फ्रान्ससेली उपनिवेशको मुक्तिदाता रूस हुँदै गइरहेको छ । यी अफ्रिकी राष्ट्रका जनता ‘फ्रान्स आउट, रसिया इन’ को नारा लगाउँदै सडकमा उत्रने गरिरहेका देखिन्छन् । रूसले यी राष्ट्रको मुक्तिका लागि ‘वाग्नर लडाकु समूह’ प्रयोगमा ल्याइरहेको छ । पछिल्लो समयमा यही वाग्नर समुहका लडाकुले फ्रान्सेली सेनालाई सुडानबाट लखेटिदिएका थिए ।

रूसको अफ्रिका प्रवेशमा तीन मुख्य कारणले काम गरिरहेका छन् ः पहिलो, अफ्रिकी महादेशमा रूसको प्रभाव विस्तार, दोस्रो, आर्थिक व्यापार र तेस्रो, भूराजनीतिक फाइदा । यसले गर्दा फ्रान्स त्यहाँबाट हात धोएर भाग्नु परिरहेको छ ।

विगतदेखि नै अफ्रिका उपनिवेश भोग्न अभिषप्त छ । ब्रिटिश उपनिवेश, फ्रान्सेली उनिवेश, अमेरिकी उपनिवेश आदिबाट बल्ल अफ्रिका स्वतन्त्र हुँदै जान थलेको देखिन्छ । अहिले अफ्रिकामा रूस तथा चीनजस्ता देशहरूको आर्थिक तथा सैन्य शक्तिसहितको उदयसँगै ‘पूर्वीय साँठगाँठ’ देखा परिरहेको छ । यो साँठगाँठ औपनिवेशिक हुन्छ वा समान सार्वभौमसत्ताका आधारमा ? भन्न र हेर्न बाँकी नै छ । तर अहिलेसम्मको सम्बन्ध पारस्परिक समझदारीका आधारमा देखा परिरहेको छ ।

युरोप बुढो र अशक्त हुँदै गएको, अमेरिका आफ्नै पुनर्जीवनका लागि आफूतिरै फर्किएको, ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरू आत्मनिर्भर र सार्वभौम हुँदै गएको, पूर्वीय देशहरू चीन, रसिया र भारत समृद्ध हुँदै गइरहेको अवस्थामा अफ्रिका महादेशमा यो नयाँ वैश्विक शक्ति सन्तुलनको छायाँ देखा पर्नु स्वभाविकै हो पनि ।

अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा २८ प्रतिशत प्रतिनिधित्व गर्ने अफ्रिकामाथि रूस तथा चीनको आँखा पर्नु अस्वाभाविक होइन । यी कारणले फ्रान्सलाई रूसविरूद्ध उत्रने प्रेरित गरिरहेको देखिन्छ ।

तथापि नेटोमा अमेरिकाको प्रत्यक्ष सहभागिता नहुँदासम्म युक्रेन युद्धमा रूस हाबी भइरहने देखिन्छ ।