• पुष १२ २०८१, शुक्रबार

महँगो जग्गा लिलाम गरिदिएपछि कर्मचारी थुनेर स्थानीयले लगाए कृषि बैंकमा ताला

पुष ११ २०८१, बिहीबार

सिराहा । प्रक्रिया छलेर बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै ऋणीले कृषि विकास बैंक लहान शाखामा तालाबन्दी गरेका छन् । ऋणीको समर्थनमा आएका स्थानीयवासीहरूको सहयोगमा तालाबन्दी गरिएको हो ।

तालाबन्दी गरि स्थानीयहरू बैंक परिसरमा नाराबाजी गरिरहेका छन् । कर्मचारीहरू भित्रै थुनिएका छन् । सेवा अवरुद्ध भएको छ । प्रहरीले बाहिर सुरक्षा दिइरहेका छन् । उनीहरूले जग्गा फिर्ता नभएसम्म आन्दोलन गरिने जनाएका छन् ।

लहान नगरपालिका–२ का किसान रामचन्द्र यादवले पूर्व–पश्चिम राजमार्गमा टाँसिएकै ७ धुर जग्गा बन्धकी राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए । उनले मंसिर महिनाको पनि किस्ता तिरेको बताएका छन् । ब्याज सवाँ गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा पनि जग्गा लिलाम भएको र यसले अन्यायमा परेको ऋणी यादवले बताए ।

उनका अनुसार ०८१ कार्तिक २९ गते जग्गा लिलाम गरिदिने कर्मचारीले धम्की दियो । पैसा पटक–पटक बुझाइरहँदा पनि चलनचल्ती अनुसार १ करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमै लिलाम गरिदिएको यादवले सुनाए। कर्मचारीले आफूलाई लिलामी प्रक्रिया पनि जानकारी नदिएको उनको भनाइ छ ।

बैंकका शाखा प्रबन्धक विवेक पौडेलले यो जग्गा लिलामी विषयमा केही बोल्न चाहेका छैनन् । केही महिनाअघि मात्रै उनी सरुवा भएर आएका हुन् । पूर्वप्रबन्धकको पालोमा यो सबै भएको बैंक स्रोतको भनाइ छ ।