• पुष ५ २०८१, शुक्रबार

कवि सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’ कविता संग्रहको समीक्षात्मक टिप्पणी

पुष ५ २०८१, शुक्रबार

विक्रम सम्वत् २०३३/४/२८ गते काभ्रेको पनौति न.पा-७ मा जन्मिएका कवि सूर्यप्रसाद लाकोजु ४८ वसन्त पार गरी ४९ वर्षको यात्रा तय गर्दैगर्दा साहित्यका विभिन्न विद्यामा (भाषिक रुपमा अंग्रेजी, नेवारी र नेपाली) पुस्तक लेख-पत्रिका प्रकाशन गरी यस वर्ष ३७औं पुस्तकका रुपमा यो कविता विधाको-‘घामको पर्खाल’ लोकार्पण भएको रहेछ ।

यो पुस्तक मेरा बिसौं वर्ष अगाडिदेखि सहित्यिक क्षेत्रका हितैषी साथी रत्नप्रसाद अनामणि कहाँ भेटियो । लेख हेर्दा एकपटक पनैतिमा कुनै पुस्तकको लोकार्पण भैरहँदा उहाँसँग भलाकुसारी गरेको थिएँ । त्यसपछि रत्नजीले यो पुस्तकको समीक्षात्मक टिप्पणी गरिदिनुस् भन्नुभयो ।

सर्वप्रथम लेखक कविलाई नियाल्दा उहाँ आपनो नाम सूर्य भएकोबाट साँच्चै सूर्यले जस्तै आफ्नो जीवनको किरणलाई देशभक्ति, मानवता, र भौतिक विकासवादी चिन्तनमा खर्च गर्दै हुनुहुन्छ । उहाँका तीन दर्जन भन्दा बढी कृतिमा प्राय सूर्य शब्दलाई प्रत्यक्ष वा परोक्ष रुपबाट प्रयोग गर्न मन पराउनु हुन्छ । सूर्यको नेपाली पर्यायवाची शब्द घामसँग सम्बन्धि पुस्तकका नाम त झण्डै आधा दर्जन भन्दा बढी नै छन् ।

यो ‘घामको पर्खाल’ पुस्तकको वैह्रिक समीक्षा त दृश्यमान नै छ । यो पुस्तक डिमाइ साइजमा निर्मित छ । यसमा ६८ पेज कविताका लागि छन् भने २० पेज लेखकीय र भूमिका एवम् विषयसूचि आदिमा खर्च भएको छ । यो समेत जम्मा ८८ पेज र अकर्षक कभरले पुस्तक तयार भएको छ । यस पुस्तकको डिजाइन र साजसज्जामा कुनै गुनासो छैन । यसको मूल्य रु. १८० राखिएको छ । एक पन्नाको रु.२ भन्दा थोरै बढी पर्ने रहेछ ।

यो पुस्तक कविता विधा भएकोले कविताको बारेमा भन्दा कविताका प्रकार दुई हुन्छन्-एक छन्दवद्ध र एक छन्दमुक्त । छन्दका सम्बन्धमा पौरस्त्य विचारधाराका कविहरु छन्द बिनाको कवितालाई के कविता भन्नु भन्दछन् भने छन्द मुक्त वा गद्य कविताका लेखकहरु अनि पनि जहाँ-त्यहाँ आदि ठोस भन्दा बढी लय वा अनुप्रास मिलाउनका लागि किन अलमल गर्ने भन्ने भनाइ राख्दछन् । गद्य कविताको थालनी आजको आठ दशक भन्दा पनि अगाडि ख्याति प्राप्त कवि गोपालप्रसाद रिमाल, भूपि शेरचन, सिद्धिचरण श्रेष्ठहरुले पहल गरेर लोकप्रिय सिर्जना गरे ।

लाकोजूजीले यस पुस्तकमा पनि कतै भूपि शेरचानका शब्द र भाव त कतै सिद्धिचरणका ‘मेरो प्यारो ओखलढुङ्गा’का भावलाई आफ्ना शैलीमा झल्काएका छन् । अहिलेका लेखक प्रायः आफ्न प्रत्युत्पन्न प्रतिभा स्फुरण भएर सरासर एकाबेलामा वार्णिका मात्रिका, गण, छन्द, अनुप्रास, भाषिक, सबै प्रकारको फर्मामा ढाल्दा समय र प्रतिभाको नष्ट भएर लेख्य उत्साह नै मर्नसक्छ ।

अर्को कुरा छन्दात्मक कविता वा श्लोकमा तथ्य कुरा भन्दा चोकर-टुडा र भुष बढी केलाउनु पर्छ । त्यसैले गद्य कविताको प्रचलन बढी पाइन्छ । लाकोजू कविले यस पुस्तकमा दईखण्ड राख्नु भएको छ ।

प्रथम खण्डमा लामा कविता ८, मझौला २ र छोटा रुपका ३१ गरी ४१ वटा भिन्न शीर्षकका गद्यात्मक कविता पस्कनु भएको छ । दोस्रो खण्डमा पद्यात्मक प्रवृत्तिका दुई हरफ, ७ वटासम्म शब्दावलीका लय राखेर गाउन सकिने कुनै मोतीराम भट्टपरक छन् भने कुनै मुनामदनका छनकमा रचित छन् । यस ‘घामको पर्खाल भित्र’ दुवै खण्डमा गरी जम्मा ४८ कविता साभार छन् ।

खण्ड खमा रहेका देशको माया बाँकी छ, ह्रदय खोलौन, नेपाल, रहर, चेलीको पुकार, र चाहना शान्तिको गरी जम्मा सात कविता, लयात्मक छन् । शीर्षकबाट नै लाक्षणिक भाव बुझ्न सकिन्छ । यसको मतलव नाम र ठेट बोली मिलेका छन् । नेपाल राष्ट्रप्रति लेखकको गहिरो पे्रम छ । धनी र गरीबहरुको बीचको खाडल धेरै गहिरो भयो ।

यसलाई मानवीय एकताबाट पुर्न बाँकी छ । आदि भावना समेटिएका सात कवितामा, मानव हुनका लागि धेरै सद्गुण चाहिन्छ । दया, माया, करुणा, मित्रता, सत्यता, आदि मानवीय समवेदना, सम्वेदनशीलता छ भने मात्र हामी मिलेर हातमा हात काँधमा काँध मिलाएर यस देशलाई आजको युगमा विश्व परिवेशको दाँजोमा पुर्याउन सकिन्छ भन्ने भाव प्रकाश गर्नु भएको छ । अमानवीय चालचलनप्रति उहाँको वितृष्णा छ ।

१.अब सूर्य लकोजूका गद्य कविताका अन्तरवस्तुप्रति सुक्ष्म समिक्षा गर्दा ‘कोर्नु छ नौलो आयाम’ यो प्रथम कविता हो । यसमा मानवताका बारेमा अति उत्कटहरु हितका कुरा छन् । झट्ट हेर्दा लेखकमा भौतिकवाद देखिए पनि उहाँमा अध्यात्मिक विषयका अध्येयता भने देखिन्छ । मानव सृष्टि अगाडि त नियम र संस्कार किन चाहियो र मानव सृष्टि भए पछि तिनलाई व्यवस्थापन गर्न नीति, नियम, रीति र रिवाज बन्दै पालन हुँदै गए । तर कालान्तरका कारण ती नीतिमा विकार आएका हुन् ।
बाबा-आमा-गुरु यद्यपि कुलतका शिकार भएकै भए पनि उनीहरुबाट आफ्ना सन्तान वा शिष्यलाई कुलत, दुर्भक्षण, कुकर्म गर्न त पक्कै शिक्षा दिँदैनन् । प्रकृति सबैको साझा हो, उसले कसैलाई पक्षपात गर्दैन । प्रत्येक पशुपंक्षी जन्तु जनावरलाई हेर्नु सृष्टिदेखि जन्मजात गुण र स्वभावमा बाँच्छन् र कालान्तरमा मर्छन् । मानिस चेतनशील छ । त्यसैले ऊ एकै स्वभावमा सन्तोष लिन सक्दैन । बुद्धिद्वारा जीवन चलाउन र बाँच्न खोज्दछ । तर मानवता छैन भने रुपले मात्र हुँदैन, त्यस्मा दानवता आउँछ ।

कविले यस कविताबाट मागेको वा चाहेको त्यो दिन आउँछ तर एउटा वृक्षबाट फल पाउन धेरै पर्खनु पर्छ । फलेको फल पनि समय नआइ पाक्तैन, खान पाइन्छ । समय पर्खनु पर्छ । त्यो दिनको सुरुवात भैसकेको छ । जब पूर्ण मानवता आइसक्छ, त्यस्को साथमा सँगै पाशविकता पनि आउँछ । त्यसबेला वेद, धर्म, संस्कृति, नाता, लाज, न्याय, सत्यता, दया, माया, करुणा, सबै विलिन हुन्छन् र मात्र स्वार्थ हावी हुन्छ ।

२. विकास-

यस छोटो कवितामा नेपाल बनाउने कसम खाएका नेताहरुले विकासका नाउँमा के गरेनन् ? नारायणीमा पानी जहाज, घरघरमा ग्यासको पाइपलाइन । कृषि प्रणालीमा नवीनतम उन्नती, चोभारमा सुख्खा बन्दरगाह । यी सबै गफ भए, अर्बौंको चामल, चिनी, दाल, सागसब्जी, फलफूल, खसी र भैंसी भित्राएर बल्ल चुलो बल्छ । वर्षैपिच्छे, सिजनै पिच्छे, छिमेकीको मुख ताकेर निर्वाह चल्छ ।

३. जीवनका कथा-
यी हरफ पढ्दा भूपि शेरचनको घुम्ने मेच माथि अन्धो मान्छेको याद आयो । हरेक मान्छेको जीउने लक्ष यस्तै हुन्छ । वेदमा पनि यही सन्देश छ- असतोमा सदगमय, मृत्योर्मा अमृतगमय, तमसोमा ज्योतिर्गमय, कविले यस्तै लक्ष लिएका छन् ।

४. विश्वास-
यो दोस्रो लामो कविता हो । कविले शालिन प्रकारले व्यङग्य गरेका छन् । आज मानिसमा वा नेतामा गुण गर्ने प्रति नुनचुक छर्ने प्रवृत्ति बढेको छ । विनम्रता देखाएर भोट मागेर पद पगरी पाएपछि हिजोको हालत बिसर्ने नेताप्रति लक्ष्य गर्दै संवेदनशील भाषाशैलीमा प्रहार गरिएको छ ।

हिजो हात्तीछाप चप्पल पड्काउने नेताहरुले जाल झेल कपटको खेल खेलेर चारतारे र पाँचतारे होटलमा झुल चाँदनी भित्र प्रियसीसँग हनिमुन मनाउने भए पछि आफूलाई शुर र वीर बुद्धिमान, भाग्यवान हुँ भन्ने गर्वको गग्रेटोमा छोपिएपछि अब मानवता, सत्यता, इमानदारिता जस्ता गुण खोज्नु खोन्नेको मूर्खता हुन्छ भन्ने कुरा दर्र्शाएका छन् ।

५. मेरा अक्षमताबाट-
कसैमा रहेको अमूल्य इमान, जमान र सत्यता कसैलाई त्यस्तो नलाग्न सक्छ । प्रतिष्ठा कमाउन बहुत मुश्किल छ । कठोर कष्ट गर्नपर्छ, कसैले त्यो महँगो वस्तु फालेर-पितलको पाइन हाल्दछन् ।
६-‘तिमीलाई र तिमी’ शीर्षकमा लेखकले तिमी भनिएको कल्पनाको व्यक्ति नभइ आफ्नै गृहलक्ष्मीलाई पात्र बनाएर यी भाव व्यक्त गरेकाछन् ।

उनको अभिव्यक्तिमा यति कुरा अक्षरमा उनेर लोकार्पण नगरी भार्याको ऋणको बोझ बोकी रहनुपर्ने हुन्छ । यो सबै उनीप्रतिको आभार । उनीलाई देखाउँदा, सुनाउँदा लेखकलाई एकातिर भार (मन) हलुका हुने र अर्कातिर उनको प्रणय पनि आफूतिर सदाबहार भैइरहने अवधारणा पनि देखिन्छ । यी दुवै हरफ मूल्याङ्कन गर्दा सूर्यजीको उन्नति पथमा टेवा दिने प्रेमिल पत्नीले गर्दा भग्यवान् रहेछन् भन्ने छर्लङ्ग हुन्छ । यी भनाइ दुवैले पालना गरुन् दाम्पत्य सुखमय होस् ।

७-छलिया-
बरु छलियामा लाज होला । छलरुपी जाल बुनेर दुनियाँलाई झुटो आश्वासन बाँडेर, निमुखालाई भर्याङ् बनाएर सत्ताको स्वाद चाख्न थालेपछि बचनको विश्वास र देशको विकास बिर्सेर एकान्तमा एक्लोपनको शान्त तलाउमा जल तरङ्गसँग मितेरी लगाएर भुलीरहेको व्यक्तिलाई पोखरीमा ढुङ्गा हानेर ध्यान भङ्ग, शान्ति भंग मात्र गराए । हुनु खानु केही छैन ! हात्ती आयो ! आयो ! फस्सा !!!
८-सरकार बन्न बनाउनु, चल्नु चलाउनुमा मात्रै गौरव गर्छ, गणतन्त्र गणरुपी जनतालाई होइन उनीहरुलाई मात्र छ । सत्तामा नपुगेसम्म धाइफाल हालेर पुग्ने कोसिस् । पुगेपछि ढल्छु कि ? भनेर टेवा थप्दैमा सीमित । यस्तो छ सरकारको ‘गलत’ प्रवृत्तिको आशा गर्न भन्दा निराशामै सुखशान्ति छ ।

शास्त्रमा लेखिएको छ ‘आशा हि परम दुःख, निराशा परम सुखम्’ । यो एउटी संकेत गरिएकी नारी पिङ्गलाले आँखा-झिम्क्याएको छ, मुन्टो हल्लाएको छ, त्यो पक्कै आउँछ, अब त आउँछ, भन्दा भन्दै भररात भोकै र अनिदो बस्न परेपछि वैराग लिएकी थिई । हामी हाम्रो काम गरौं ।

१२-मुस्कान ल्याउनुपर्छ-
यो लामो कवितामा कविले एउटी काल्पनिक विरही पात्रलाई मन कमलो पार्दै सहारा दिन खोज्छन् तर, तालमेल मिल्दैन र उनी पनि एक्लो पर्छन् । त्यसपछि आश्वासन दिन्छन्
‘भो ! नरोऊ ! सुखले दुःख ल्याउँछ भने
दुःखले सुख पनि ल्याउँछ ।
दुनियाँको भए छोडेर उठ !
फूलसँग काज्डा पनि छ तर
तिमी जोगिएर फूल देख र टिप
सकारात्मक सोचमा कर्म गरेर बाँच
जोरि-पारिका अगाडि मयूर भएर नाँच’ भन्दछन् ।

१३-लुकाउनु छ, र गाँउमा सिंहदरवार गाउँगाउँमा सिंहदरवार । यो नाराले नागरिकमा ६४ प्रकारको करको दायरा बढाएर, चल-अचल वस्तुमा महँगी बढाएर, तीन तहका सिंहदरवारलाई पाल्न, जनताको ढाड सेकेर, आफूहरु सलामी, सम्मान, चाकडीको मोज र भोजमा रमेर जनता पीडित छन् ।
त्यसैले लुकाउनु छ, किन कि यिनीहरु दुनियाँको दुःख दर्दमा मुखले हाइ-वौरा भन्दै त्यही कमजोरीको फाइदा प्रतिशतमा वा सके सिधै भाउ र दाउ मिलाएर भ्रष्टाचार गर्नमा उत्सुक छन् । जग जाहेर छ, भूकम्प काण्ड, कोरोना काण्ड, बाढी पहिरो काण्ड ।
१५-  थापिरहुँ-
सपनाकी राजकुमारीको रंगले रंगिएर लेखक प्रेमिल संसारमा अलमस्त छन् । प्रेयसीको मन पर्ने आँखा, लालुपाते ओठ, अलका परेका केश चन्द्रवदनी, किशोरीका काखमा सुनसान, निर्भय रात वा, सुवासित मुखकमलो दिल, न्यानो अंगालो, अतृप्त भोग, त्यो प्रेमिल रात । को भन्छ नथापौं ?

१६- प्रश्न :
यो लामो कविता हो । यसमा कविले स्रोत सम्पदा युक्त नेपाललाई मनभित्र राखेर, राष्ट्रलाई म भनेर प्रश्न गर्दछन् । महाकवि देवकोटाको के नेपाल सानु छ ? सँग कवि प्रभावित छन् । अपार हिमाल, वन, जंगल जडीबुटी, जलस्रोत, खनिजतत्व, सुन झैं धनहरे खेत, तराई, पहाड, हिमाल उपत्यका, मठ, मन्दिर देवादय, नदी । कुन कुराको कमी छ यहाँ ? तर सधै किन हात पसार्नू भन्दछन् ।
अन्तमा,
१७- म अभिमन्यु ! यो कवितामा कवि अघोषित चक्र व्यूहमा आफै अभिमन्यु बनेका छन् । देशको राजनीतिको कुनै भिजन छैन । हाहामा सरकार ढल्छ । जोशमा जेपनि गर्न सहन तयार भएर सम्झौचामा सरकार बन्छ । साउतिमा देशको शासन चल्छ । उहाँ झुक्याउने खेल खेलिन्छ र घुमाइ फिराई चक्रव्यूह परेर निरीहलाई सबै मिलेर अन्याय पूर्वक मारिन्छ । सावधान भनेर कविमन करायो ।

१८- दमित सत्य-
नामको प्रजातन्त्रले व्यवहार निरंकुशता भए पछि त्यहाँ सत्य निरीह बन्दछ । आफ्नो न्यायिक सत्यलाई आफै भित्र थिचेर मारेर मुखटाल्नु पर्दछ भने त्यहाँ सत्य दमित भयो ।

१९- कलिलो मुना-
कवि देशमा घटेको अघटित घटनाबाट दुःखी देखिन्छन् । उनको स्मृतिमा १३-१६-१८ वर्षका औंलामा गन्न नअट्ने किशोरीहरु यौनपिपासु नरभक्षी राक्षसद्वारा मारिन बाध्य भएको राग ओकल्छन् ।

२०- बेला आएको छ !
यसमा कवि अब केही हुन्छ कि ? भन्ने आशामा उभिएका देखिन्छन् । अब राजा महाराजाहरुका खाँडो जगाएर बस्ने बेला छैन । पदका लागि मरिहत्ते गर्ने राजनीतिको यश गाउने हैन । देशका लागि मर्नेहरुका रगतले उनको ज्यूँदो इतिहास लेखिन पर्छ । कर्मठहरुको श्रम र सीपको सम्मान दिनुपर्छ भन्दछन् ।
“चुम्दछ ईश्वर मानिसहरुको गरिरहेको हात” म.क. देवकोटा यात्री ।

२१- म सक्दिन-
यस शीर्षकमा कविले हारेका छन् । यस देशमा मन खोलेर हाँस्न, मन खोलेर मंगल गान गाउन, हर्ष व्यक्त गर्न संवेदनशील नेपालीलाई मौका आएन । ०७ सम्म जहानीयाँ राणाशासन ०१५ सम्म अस्तव्यस्त ०१७ देखि एकतन्त्रात्मक पंचायती शासन । ०२४ मा गाउँ फर्क, ०३६ मा जनमत, ०४६ मा आन्दोलन, ०५२ मा फुटतन्त्र, त्यसै देखि जनयुद्ध, ०५८ दरवार हत्याकाण्ड, ०६३ सम्म अस्त व्यस्त, त्यसदेखि राजसंस्था हरण र धर्मनिपेक्ष, ०७० सम्म सरकार विहीन । ०७२ भूकम्प र संविधान सरकार परिवर्तन, अस्थिरता म हाँस्न सकिन ।

२२-प्रिय मन !
“मन एव मनुष्याणर्णा कारण बन्ध मोक्षयो । श्री म.भागवत मानव शरीरमा मन नै मुख्य तत्व हो ।
सुख दुःख बन्धमोक्षको कारण पनि मन नै हो । मन तीव्र बेगी भएर उड्यो भने मान्छे पागल हुन्छ । मनमा स्थिरता आयो भने ढीला या सुस्त हुन्छ । मन चञ्चल भयो भन, कुनै काम ढंगको हुँदैन । मन त्यस्तो मान्द्रो हो त्यसमा जुनसुकै बिस्कुन सुकाउन सकिन्छ । कहिले सुख, कहिले दुःख, कहिले पीडा कहिले हर्ष, कहिले आश्चर्य त कहिले क्रोध, कहिले सन्तपन वा शान्त त्यो मनलाई ठीकसँग चल्न लेखको आग्रह छ ।

२३-चढनु छैन शिखर मलाई, देशको राजनीति विकासको शिकार भएकोले स्वच्छ भावना र उच्च विचार भएका सत्यनिष्ठ इमान्दार इनशान फटयाइँको उकालो चढेर पटक पटक पछारिन झर्नु भन्दा फेदीमा बसेर आफूभित्र रमाउनु नै बेस हो भनेर दिक्क लाग्दो राजनीतिप्रति लेखक अनुत्साहित छन् ।

२४- स्मृति-
यो कविता पनि लामो छ । स्मृति भनेको अहिलेको कम्प्युटर हो । त्यहाँको छैन र तर पनि लेखक-सिद्धिचरण श्रेष्टको
‘मेरो प्यारो ओखल ढुङगा भाग्यको लहरमा लहरी लहरी
पुगे यस मरु स्थलमा कसरी
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ हृदयभरी ।
भने जस्तो गाउँ, गर्खा, हिमाल, पहाड, तराई, धनहर फाँट, हरियाली वन, सुनचाँदी झैं चम्कने हिमाल, नदीहरु, अमूल्य पशुपंक्षी, ताल, मठमन्दिर । के छैन नेपालमा भन्ने देशप्रेम छाएका छन् ।

२५- बुख्याँचा-
आज भोलि मानव निर्मित बुख्याँचा र रोबोटमा जति इमान्दारिता छ । मै जन्ने, मै सुन्ने, मै गर्ने, अरु सब मर्ने तर म नमर्ने भन्ने बहु स्वार्थले भरिएका अहंकारी मानिसमा छैन । यस किसिमका आदत स्वभाव भएका मानिसले यसलाई पढेर मानवीय संचेतना भरुन् सामाजिक बनून् भने भावना छ ।

२६-पत्थर र सपना-
नाम मात्रको गणतन्त्र र पत्रिकाको प्रजातन्त्र देखि निकै बैरागिएका कवि लाकोजूको मन पत्थर बनेको छ । कि त राम्रो देख्ने सुन्न पाए हुन्थ्यो ! कहिँ कतै कहिल्यै, शान्त आनन्द, सुवास विकास, न्याय देख्न सुन्न पाइन्न भने दुर्गुण-उत्पीडन र अन्यायले दिक्क हुनु भन्दा ढुंगो हुन राम्रो मान्दछन् । सपनामा कवि मस्त छन् तर त्यो रात्रीको मस्त निद्रामा देखिएको व्यूँझदा असत्य भैदिन्छ । भरोसा गर्ने ठाउँ नपाएर यस्तो अभिव्यक्ति दिन पुगेका छन् ।

२८-होली शिर्षकमा कवि प्रेमिल संझनामा रोमाञ्चकारी क्षणको स्मृतिले सकारात्मक जीवन निर्वाह गर्ने फड्को मार्दाको अनन्दानुभूतिजन्य विश्वास गर्दछन् ।
२९- आमा ! शीर्षक कवितामा मातृ ममताले भरिएको पुष्टिपूणर् जीवनमा एक्कासी विरह खप्नु पर्दाको क्षणलाई स्मृति पटलमा राखेर आपनो अन्तरशोकाणर्वका छाल सहित्यकारहरुमा पस्कनु भएको छ ।

३०- धानको दिवस-
धान दिवसको नाताले भत्ता पचाउँदै सत्ता जोगाउने लहरी नेताका चालको सूक्ष्म व्यङ्ग्य छ । खेतमा रोप्न पर्ने बीज छातिमा लर्र्काएर, क्यामरा फर्र्काएर, हिलामा लाप्पा खेल्दै लाज र हैसियत बिर्सिएर के के न गरे भन्ने नकच्चरा नेताहरुलाई लक्ष्य गरिएको छ ।

३१- घमण्ड-
‘काम गर्ने कालु मकै खाने भालु’ भने जस्तै अर्काको श्रम, सीप र पसिनाको दुरुपयोग गर्दै पाएको पदको घमण्ड गर्दै हैसियत भुल्ने मानिसका लागि गर्वनाशक गतिलो झटारो हानेका छन् ।

३२-छोरालाई शीर्षकको लामो कविताबाट कविले आफूमा आएको उमेरको परिपक्वतामा सन्तान आफू भन्दा पनि प्रगतिशील र आदर्शवादी कर्मठ, कर्तव्य परायण, शुर-वीर तर विवेकशील, सुख दुःख बुझ्ने इमानदार आफन्तप्रति सद्भाव राख्नसक्ने मृदुभाषी धैर्यताको बाँध बाधेर पत्थर भित्रको हिरा र पानी भित्रको मोती चुम्नसक्ने । विद्याको सदपयोग गरी विकासको मुल फुटाउने, असल, गुणवान बनोस् भन्ने भाव सदीक्षा यसबाट प्रकट गरेका छन् ।

३३-‘भोक’
यस कविताबाट कविले अतिमार्मिक शब्दमा गरिवीको व्यथा पोखेका छन् । यस्तो पनि होला र ? भन्ने अबुझ पनि छन् तर म आत्मसात गर्दछु । भोक जस्तो व्यथा र अन्न जस्तो ओखती अर्को हुँदैन । त्यही अन्नको अभावमा बेच बेचिन सकिन्छ तर भोक खप्न सकिन्न ।
सर्वत्र अभावका सामना गर्नु परेका गरिविताको आर्तनाद, र चित्कारबाट पनि जोड नचले पछि समकी इन्दिराले भने कि छन्,
‘दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दयाराखी मलाई अझ दुःख दे’
भने जस्तै लेखकले गरिबीको पराकाष्टामा पुगेर यो अन्तरनाद लेखेका छन् ।
३४-विश्वासमा कवि भन्दछन्- संसार अड्याउने सुलेसन भनेकै विश्वास हो, त्यो भए सब थोक छ । त्यो नभए सब निरस र अभाव मात्र छ ।

५- भराेसा-
यसमा कविको आशय उनी प्रल्हाद बनेका छन् । जन्म जात अवस्थादेखि ईश्वरीय आस्था र भरोसामा रहेका हजारौं भार सहेर बाँच्न सफल प्रल्हादलाई आफ्नो निरंकुश बाबाले तरवार उचाले पछि प्राण संकटमा ईश्वर भरोसा गर्दा खम्बाबाट प्रकट भएर नृसिंहले प्रल्हाद बचाए ।

३६-फेरिएको संसार-
यो शीर्षकमा पचास वर्ष यता प्रत्येक दशकमा यो संसार विशेष गरी नेपालको चाल चलन बदलिंदै गएको छ । तिमी भित्र तिमी र मभित्र म नहुँदा वास्तवमा युग नै परिवर्तन भएको छ । यो लेख सानु भएपनि ओजपूर्ण छ ।
३७- स्नेह खोज्दै, माया पाउने दिने लिने पनि बानी रहेछ, भन्ने भाव यसमा छ । पीडाले छटपटाएको बेला र आनन्दले फर्माएको बेला आकाश र धर्तीको फरक छ तर माया पाउने बानी भने लिसो झैँ टांसिएछ । अति गर्नु हुन्न सचेत हुनुपर्छ ।

३८- सत्य बदलिन्छ-
यो शीर्षकमा कवि-कच्चा विचारवादीका पछि लागेका छन् । सत्य सधै नै सत्य रहन्छ । त्यो अदल बदल हुन्छ भन्ने आँखामा अझै पनि रंगिन चश्मा छ । अहिले सूर्य अटल छ भन्नेहरु पनि सूर्य आफ्नो कक्षमा घुम्छ भन्न लागेका छन् । यो कुरा वेदवाणीमा अर्बौं वर्ष पहिले नै सबै घुम्ने बाह्र राशीका कुरा उल्लेख भइ सकेको छ ।
३९- परिवर्तन शीर्षकमा कविको आश्चर्य समयको माग र संगतको खेल वा मौलिक उत्तेजनाको गर्मीको भेलले सबैलाई लछार्छ-पछार्छ । संसार नै परिवर्तनशील छ । हिजोको सामीक्षा आज भएन परिवर्तन भयो ।
४०-बदलिएर आयौ-यो कविता लामो मध्ये अन्तिम हो ।

यसमा कवि भन्छन्,
‘संसार परिवर्तनशील छ,
रात रहे अग्राख पलाउँछ ।’
यो उखान हजारौं वर्षदेखि चलेकै छ । आज पनि सत्य सावित छ । धर्म संस्कार, आफन्त, जन्ती, घरपटी सबको बीचमा वेद पढेर धर्मगाँठोमा कसिएर बाँधिएर सप्तऋषि अष्ट पर्वत, अग्नी यज्ञका सात परिक्रमा गरी पतिव्रता र पत्नीव्रताका कसम खाएर, बोलेर, आकाशका तीनतारा पुजेर, स्वयंवर, वरणी, कन्या दान विवाह चतुर्थी पाँच पर्खाल भित्र हातमा हतकडी (बाला) पाउमा नेल (कल्ली) गलामा गलपासो (मंगलसुत्र पोते) शीरमा (ताज फूल वा शिरवन्दी) भित्र राख्दा त पशुले किला दाम्ला नै बोकेर उफ्रने बैंस बौलाएपछि अब जोइटिङ्ग्रे बनेर पुरानो गीत अलापेर काम बन्दैन । माखो मर्दैन । मर्द हो भने लजाएको बेला कोट्याएर विज्ञापन गर्न आफै नाङ्गिनु हो भन्ने चित्रण यसले गरेको छ ।

४१-मिराज-
यसले एकोहोरो प्रेमको परिभाषा पोखेको छ । एकतर्फी प्रेम पछिल्लो समयमा फेसन बनेको छ । कविले प्रथम खण्डमा यस प्रकारका ४१ वटा कविता प्रस्तुत गरेका छन् । कवि सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’ कवितात्मक पुस्तकको खण्ड ‘ख’ मा देशको माया पहिलो शीर्षक छ । त्यसमा कविले नेपालको पूर्व-पश्चिम, उत्तर-दक्षिण सबैलाई समेटेर देशभक्तिको सुन्दर गाथा स्तरीय शब्द शैलीमा प्रस्तुत गर्दै नेपाल जस्तो प्राकृतिक सौन्दर्य पूर्ण देश छाडेर विदेश जान पर्दैन भन्ने भाव प्रस्तुत गर्नुभएको छ ।
‘जननी जन्म भूमिश्च स्वगादपि गरियसी’ 
सिद्ध छ । दोस्रो बाँकी छ शीर्षकमा सबै हरफमा मानवीय सम्वेदनाका शीत लटरम्म टल्किएका छन् । यसमा अन्त्यका दुईलाइन कालजयी छन् । आवश्यकताको भकारी छ, पैट्याउन बाँकी छ । सबैले जमर्को गरौं ।
तेस्रो- ह्रदय खोलौन !
यस कवितामा अत्यन्त मार्मिक सम्वेदनशील गहिरो मायाका पोखरी भित्रका मोति जस्तै लाइन टल्केका छन् । यति प्रेम भएर पनि नजिक हुन नपाएको परिबन्द अदृश्य छ । त्यसैले इशारा मात्र पाए समुद्र तरेर आउँछु । प्रत्यक्ष्य बोलौं हृदय खोलौं भनिएको छ ।
चौथो- नेपाल शीर्षक छ, यसमा सिर्जित सम्पदा बचाइ राख्ने प्रेरणा सहित यी हरफ टुङ्गिएका छन् । देशको माया मूलभूत उद्देश्य छ ।
पाँचौ – रहर शीर्षकमा देशप्रेमबाट सुरुगरी देशबासी नारीलाई मन पराएको भाव पोखिएको छ । प्रेमिल कथा प्रधान छ ।
छैटौं- चेलीको पुकार, यस शीर्षकमा विशेष गरी तिहारमा दिदी भाइ दाजु बहिनीको एक आपसी निकट सम्बन्ध र सम्मान साटासाटगरी रमाइलो मनाउने बेला दाजु भाइको विदेशगमन र गरिवीका कारण आउजाउ गर्न नपाएका विषयको दुःख पीडा उल्लेख गरिएको छ ।
अन्त्यम सातौं-चाहना शान्तिको कवितामा लेखकले बाध्यताले विदेश गएका युवा युवतीको स्वदेश फर्कने तीव्र चाहना भएको कुरा व्यक्त गर्दै सँगै बसेका, खेलेका, पढेका साथी साथीको करले वा रहरले कुनै पनि भिसा लगाएर विदेश गएकालाई र आर्थिक अभावले जान नसकेका साथीका मनमा प्रेमी प्रेयसीका भावनामा पुनर्मिलनको आशा मरेको छैन र मर्नु हुँदैन । स्वदेश फर्किएर शान्तिको चाहना पुरा गर्न पर्छ । हुन्छ-पाइन्छ भन्ने दावा गर्दै कविले कलम बन्द गरे ।
अन्त्यमा-
साहित्यिक फाँटका सशक्त जोस जांगरका साथै प्रतिभाशाली गौरव गुणका धनी सूर्य लाकोजू जागरुक कवि हुनुहुन्छ । उहाँका रचना धेरै विधामा विष्फारीत भएका छन् । गद्य र पद्यमा लोकप्रिय शैलीमा कविता रचना गर्ने, मानवता र राष्ट्र प्रेमलाई साध्य बनाएर उहाँ अगाडी बढनु भएको यर्थाथ स्पष्ट छ । आगामी दिनमा अझ उत्कृष्ट रचना स्फुरण होस् प्रगति होस् । अस्तु ।