• पुष ४ २०८१, बिहीबार

लामिछानेको तस्बिर सार्वजनिक गरेको जिम्मा निकोलस भुसालले लिए

पुष ४ २०८१, बिहीबार

‘यो फोटो बाहिर ल्याएको प्रहरीले होइन मैले हो,’ भुसाल भन्छन, ‘भाइरल गराउँछु भन्ने सोचेर होइन । कसरी बसिरहेका छन् भनेर बुझाउन फोटो खिचेको हुँ ।’पोखरा — सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्बिर कसरी बाहिर आयो भन्ने बहस सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले हिरासतभित्रको फोटो सार्वजनिक गर्ने र जिम्मेवार प्रहरी अधिकारीमाथिसमेत अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेका छन् ।

आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त तस्बिर आफूले खिचेको दाबी गरेका छन् । भिडियोमा उनले भनेका छन्, ‘मैले हिरासतभित्र गएर पनि खिचेको होइन, सीसीटीभी क्यामेराको फुटेज खिचेको हो । त्यो पनि पुलिसहरूकै अघि । त्यतिबेला सबै प्रहरीहरू रुममै थिए ।’ निकोलसले बिहीबार आफ्नो फेसबुकमा उक्त तस्बिर साँचो भएको र आफैंले खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकारेका छन् ।

‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन,’ उनले भनेका छन, ‘भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’ बिहीबार नै फेसबुक लाइभमार्फत उनले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन् । हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रमममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट उक्त तस्बिर खिचेको उनले स्वीकारेका छन् ।

उनले उक्त तस्बिर बाहिर ल्याउनु गल्ती भएको भन्दै सजाय भोग्न तयार रहेको बताएका छन् । ‘यो फोटो बाहिर ल्याएको प्रहरीले होइन मैले हो,’ उनले भने, ‘भाइरल गराउँछु भन्ने सोचेर होइन । कसरी बसिरहेका छन् भनेर बुझाउन फोटो खिचेको हुँ ।’ लामिछानेलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएदेखि सर्वसाधारणलाई मोबाइल लैजान रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय परिसरभित्र प्रवेश गर्नेबित्तिकै गेटनजिकै प्रहरीले सर्वसाधारणको मोबाइल राख्ने गरेको छ ।

भुसालले भने आफूसँग मोबाइल नमागिएको दाबी गरेका छन् । उनले प्रहरीकै अगाडि उक्त फोटो खिचेको र आफूले फोटो खिचेको सीसीटीभी फुटेज प्रहरीसँग हुनुपर्ने जिकिर गरेका छन् । उनले पुस ६ गते चितवनमा प्रदर्शनमा सहभागी बन्न आह्वान गरिएको पोस्टरसहित लामिछानेको तस्बिरसमेत सँगै फेसबुकमा राखेका थिए । तर उक्त तस्बिर बुधबारदेखि भाइरल भएपछि भने लामिछानेको तस्बिर हटाए । रास्वपाका सह(कोषाध्यक्ष दीपक बोहोराले बुधबार आफ्नो फेसबुकमा उक्त तस्बिर राख्दै तस्बिर सार्वजनिक हुनुमा प्रहरी दोषी भएको बताएका छन् । ‘अन्याय गर्नुको पनि हद हुन्छ ।

रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ?,’ उनले प्रश्न गरेका छन्, ‘अनि के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनुपर्ला ।’जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले भने घटनाको छानबिन भइरहेको बताएका छन् । प्रारम्भिक अनुसन्धानमा भुसालले नै उक्त तस्बिर सार्वजनिक गरेको थाहा भए पनि थप छानबिन पछि स्पष्ट हुने उनले बताए ।

‘छानबिनपछि पक्राउ गरेर आवश्यकताअनुसार कुन कानुनमा टेकेर कारबाही गर्ने भन्ने छलफल गर्दैछौं,’ उनले भने, ‘दुई(तीनवटा कानुन आकर्षित हुने देखिन्छ ।’ भुसालले त्यस दिन लामिछानेलाई भेटेकोबारे भने उनले स्वीकारेनन् । उनले भने, ‘भेट्न आएका हुन् तर भेटेका होइनन् ।’ वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले मुलुकी अपराध संहिता, २०७४ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भंग गर्न नहुने व्यवस्था गरिएको बताए ।

मुलुकी अपराध संहिताको धारा २९८ को उपधारा (१) मा कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न त्यसको गोपनीयता भंग गर्न वा अनधिकृत रूपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन नहुने उल्लेख छ । त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यसरी तस्बिर सार्वजनिक गर्दा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र विद्युतीय कारोबार ऐन समेत आकर्षित हुने देखिन्छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले सुरक्षाका हिसाबले हिरासतभित्रको तस्बिर बाहिर आउनु राम्रो कुरा नहुने बताए । उनले भने, ‘हिरासतभित्र भीआईपीलाई फरक व्यवहार गरिँदो रहेछ भनेर आम कैदी बन्दीको मनोविज्ञानमा असर पार्छ । कतिपय अवस्थामा यसले अनुसन्धानलाई पनि असर पार्छ ।’ उनले कैदीबन्दीलाई भेट्न पूर्वमन्त्री र प्रधानमन्त्रीहरुको लस्कर नै जाँदा त्यसले अनुसन्धान कहीँ न कतै असर त पार्छ नै ।