• पुष ४ २०८१, बिहीबार

सिरिया छाड्ने तयारी गर्दैछ रुस ?

पुष ४ २०८१, बिहीबार

दमस्कस । रुसले सिरियाबाट आफ्ना सैन्य उपकरणहरू ओसार्न थालेको संकेत मिलेको छ । स्याटलाइटबाट खिचिएका तस्बिरको विश्लेषण गरेर विश्लेषकहरूले यस्तो निचोड निकालेको समाचारमा उल्लेख छ ।

सिरियामा रुसको नियन्त्रणमा रहेको बन्दरगाह र हवाई बेसमा सैन्य सवारी साधन थुप्रिएको तस्बिरहरूमा देखिन्छ । यसलाई रुसले आंशिक रूपमा सिरिया छाड्न लागेको रूपमा पनि अथ्र्याइएको छ ।

हवाई बेस भएको स्थानतिर रुसी सैन्य ट्रकको लस्कर नै गइरहेको भिडियो आफूले पुष्टि गरेको बीबीसीले बताएको छ । युद्धबारे अध्ययन गर्ने वासिङ्टन स्थित संस्था आईएसडब्ल्यूले पनि यसलाई सिरियामा रुसी सेनाको उपस्थिति कटौती गर्ने वा पूरै निकाल्ने तयारी भएको उल्लेख गरेको छ ।

मस्कोले दमस्कसमा नयाँ सरकारसँग वार्ता गरिरहँदा सावधानीका लागि यी कदम चालिएको हुन सक्ने आईएसडब्ल्यूले बताएको छ । बशर अल–असद सत्तामा रहँदा सिरियामा रुसी सेनाको बाक्लो उपस्थिति थियो । सन् २०११ मा गृह युद्ध शुरु भएयता असुलाई सत्तामा टिकाइरहन रुसले निकै सघाएको थियो ।